स्वास्थ्य

ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’ दिइने : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा  (बुस्टर डोज) दिने भएको छ । राष्ट्रिय खोप सल्लाहाकार समितिको सिफारिसका आधारमा ६० वर्षभन्दा माथिका भेरोसेलको दुई मात्रा लगाएका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिइने भएको हो ।

समितिको सिफारिस र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्डमा परेका ६० वर्षभन्दा माथिका भेरोसेल खोपको दुई मात्रा लगाएका ज्येष्ठ नागरिकलाई एक मात्रा खोप पुनः दिन थालिएको स्वास्थ्य सेवा विभागको परिवार कल्णाण महाशाखाका प्रमुख डाविवेककुमार लालले जानकारी दिए ।

केही विशेष अवस्थाका व्यक्तिलाई खोप लगाएपछि जुनस्तरमा रोग प्रतिरोधात्मक क्षमता हुनुपर्ने हो, त्यो नभएपछि त्यस्ता व्यक्तिलाई थप मात्रा (बुस्टर डोज) दिन डब्लुएचओले सिफारिस गरेको छ ।

यस्तै क्यान्सरका रोग भएका, अङ्ग प्रत्यारोपण गरेका, रोग प्रतिरोधी क्षमता कम भएका (एचआइभी) रोग प्रतिरोधी क्षमता दबाउने औषधि प्रयोग गर्ने व्यक्तिलाई लक्षित गरी एक मात्रा खोप दिनका लागि पनि डब्लुएचओले सिफारिस गरेको छ ।

विश्वका केही देशले आफूखुशी निर्णय गरेर बुस्टर डोज लगाउने गरेको पाइएको छ तर डब्लुएचओले सबै जनसङ्ख्यालाई समेटेर बुस्टर डोज लगाउनका लागि सिफारिस भने गरेको छैन ।