शिक्षा

सूचनामा आएकाभन्दा धेरै हिँसाका घटना घरमै लुकाइन्छ : विद्यालयका बालबालिकाकासँग लैङ्गिक हिँसा सम्बन्धी अन्तरक्रिया 

काठमाडौं । लैङ्गिक हिँसाका विषयमा विद्यालयका बालबालिकासँग अन्तरक्रिया गरिएको छ । काठमाडौँ महानगरको वडा १५ कार्यालय र सामुदायिक प्रहरी, स्वयम्भूको संयुक्त आयोजनामा प्रशिक्षण तथा अन्तरक्रिया सम्पन्न गरिएको हो । त्यस अवसरमा नेपाली सेनाको महावीर सौर्य गण (रेञ्जर) आइकीडो डोजो छाउनीले आत्म सुरक्षा सम्बन्धी प्रदर्शन गरेको थियो ।

कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले, हिँसा न्युनीकरण तथा व्यवस्थापनका लागि समुदायकै भूमिका ठूलो हुने उल्लेख गर्नुभयो । उजुरी परेका घटना मात्र प्रहरीको सूचनामा हुन्छन् । प्रहरीमा नआउनेको संख्या धेरै भएको तथ्याङ्कले देखाउँछ । त्यसैले घटनालाई सुरुमै नियन्त्रण गर्न व्यक्ति र समुदायको भूमिका बढाउनु पर्छ । सिंहको भनाइ थियो ।

कार्यक्रममा महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले, सामाजिक न्यायमा आधारित समाज निर्माणलाई महानगरले प्राथमिक योजनाका साथ दायित्व लिएको उल्लेख गर्नुभयो । हामीले वडामार्फत सञ्चालन गर्ने कार्यक्रममा पनि यो क्षेत्रलाई महत्व दिएका छौँ । डंगोलको भनाइ थियो । जागरणमुलक कार्यक्रमबाट व्यक्तिहरुमा हिँसाका लागि आउन सक्ने भाव घटाउने दिशामा हामी कार्यक्रम गरिरहेका छौँ । कार्यक्रममा वडा सदस्य मैयाँलक्ष्मी महर्जनको भनाइ थियो ।

समाजमा महिला र पुरुष दुवैमा हिँसा हुने गरेका छन् । तर तुलना गर्दा पुरुष हिँसाका घटना कम र महिला हिँसाका घटना धेरै छन् । त्यसैले महिला हिँसाका घटनाका बारेमा धेरै चर्चा गर्नु परेको हो, महानगरीय प्रहरी वृत्त, स्वयम्भूका प्रमुख प्रहरी नायव उपरीक्षक मिलन के. सी. ले धारणा राख्नुभयो । हिँसा के हो? यसलाई कसरी चिन्ने? विषयमा स्टोरी किचनका कार्यक्रम संयोजक विजु कँडेलले प्रशिक्षण दिनुभएको थियो । अहिले समाजमा केही परिवर्तन भएको छ । रुपान्तरण हुन बाँकी छ । कँडेलको भनाइ थियो । कार्यक्रममा सहभागी विद्यार्थीहरुले हिँसा, यसका प्रकार र सुरक्षाका विषयमा प्रश्न राखेका थिए ।

हरेक बर्ष नोभेम्बर २५ तारिखदेखि महिला हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन हुने गरेको छ । यही अभियानका अवसरमा कार्यक्रम सञ्चालन गरिएको हो । महिला, पुरुष वा तेस्रो लिङ्गी भएकै कारण भेदभाव, अपमान, दुव्र्यवहार, शारीरिक, मानसिक, भावनात्मक वा यौनजन्य पीडा सबै हिंसा हुृन् । कानुनले यी सबै प्रकारका गतिबिधिलाई अपराध मानेको छ ।
नेपालमा बोक्सीको आरोप, महिनावारी र सुत्केरी सम्बन्धि मूल्य मान्यता, गाली, बेइज्जती, छुवाछुत, दाइजो, लिङ्ग पहिचानबाट गरिने भ्रुण हत्याजस्ता हिंसा धेरै हुने गरेको तथ्याङ्कले देखाउँछ । यसप्रकारका अपराध हुन नदिन नेपालको संविधानले बिभिन्न अधिकारको व्यवस्था गरेृको छ । महिलाको हक, शोषण विरुद्धको हक, छुवाछुत र भेदभाव विरुद्धको हक, समानताको हक, न्याय सम्बन्धि हक, अपराध पीडितको हक, बालबालिकाको हकलाई मुख्य रुपमा लिन सकिन्छ ।

सन् १९९१ देखि हरेक बर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म बिभिन्न कार्यक्रमका साथ यो अभियान सञ्चालन हुँदै आएको छ । लिङ्गका आधारमा हुने सबै प्रकारका हिंसा र अपराध हटाएर समानतामा आधारित समाज निर्माण गर्नु यस अभियानको मुख्य लक्ष्य हो । यस बर्ष मंसिर ९ गतेदेखि १६ दिनसम्म अभियान सञ्चालन हुनेछ । यस बर्षको नारा ‘घरैबाट सुरु गरौँ, महिला हिँसा अन्त्य गरौँ’ रहेको छ ।