अर्थ

प्रक्रियाका कारण काम सुरु गर्न ढिलाइ भएको हुन सक्छ, तर माग भएका सम्पदा पुननिर्माणका कुनै पनि योजना छुटेका छैनन् — प्रमुख शाक्य

काठमाडौं । ‘काठमाडौँ महानगरभित्र पुननिर्माण गर्नु पर्ने सबैजसो सम्पदा पुननिर्माण भएका छन् । केही निर्माण भइ सके । केही निर्माणका क्रममा छन् । हामीले बनाउन खोजेका केही सम्पदा स्थानीय विवादका कारण अगाडि बढ्न सकेका छैनन् । केही गुठी संस्थान र पुरातत्व विभागको स्वामित्वमा भएकाकारण प्रक्रियामा जान सकेका छ्रैनन् । यसबाहेक अन्य सम्पदामा महानगरले आफ्नै लगानीमा पुननिर्माण गरिरहेको छ ।’ सम्पदा पुननिर्माणका विषयमा जानकारी दिँदै काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘अहिले शिलान्यास भएका कुनै पनि काम रकम नभएर निर्माण रोकिँदैन । त्यसका लागि महानगरले योजनाअनुसारको रकम विनियोजन गरिसकेको छ ।’ आज वडा २१ ल्गनटोलमा रहेको कीर्तिपुण्य महाविहार, च्वाकँ वही आँगछें शिलान्यास गर्दै उनले यस्तो धारणा राखेको हो ।

अहिले पुननिर्माण गरिएका सम्पदा आउँदा सय बर्षसम्म सामान्य मर्मत गरे पुग्छ । पुननिर्मित सम्पदाको गुणस्तरका विषयमा कुरा गर्दै प्रमुख शाक्यले, हामीले वितेको कार्यकालमा तत्काल प्रभाव देखिने र दिगो कालसम्म रहिरहने योजनालाई प्राथमिकता दिएर सञ्चालन ग¥यौँ ।

त्यस क्रममा बागमती प्रदेश सभाका सदस्य डा. अजयक्रान्ति शाक्यले, काठमाडौँ महानगरले अन्तरसरकार समन्वयबाट पूर्वाधार निर्माण र सम्पदा पुननिर्माणमा उल्लेखनीय काम गरेको आफूलाई महसुस भएको धारणा राखे । ’पूर्वाग्रह विना गरिएका यी कामहरुले महानगरको मौलिकता जोगाइ राख्न ठूलो योगदान पुगेको छ ।‘ डा. शाक्यको भनाइ थियो ।

वडा २१ सम्पदा भएको वडा हो । त्यसैले हामीले सम्पदा संरक्षणलाई योगदान दिएका छौँ । कार्यक्रममा वडाध्यक्ष उदयचुडामणि बज्राचार्यले, सेवा प्रवाह र पूर्वाधार निर्माणलाई समान महत्व दिएको बताए ।

करीव १ करोड ५४ लाख रुपैयाँ लागत अनुमान गरिएको यसको निर्माणका लागि करीव १ करोड ५ लाख रुपैयाँ कबोल गरेर समन्द्री कन्स्ट्रसनले जिम्मा पाएको छ । हनुमान ढोका दरबार संरक्षण कार्यक्रमबाट कार्यान्वयन भएको पुननिर्माण ०७९ कार्तिक १० गतेभित्र सम्पन्न गर्नुपर्नेछ । इञ्जिनियर अमित बज्राचार्यकाअनुसार ३ तले भवनको हरेक तला करीव ६३० बर्गफुटको हुनेछ ।