Uncategorized

प्रतिपक्ष नेकपा एमालेको अवरोधका बावजुद संसदद्वारा दुई अध्यादेश स्वीकृत

काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशनको दोस्रो बैठक पनि प्रतिपक्ष नेकपा एमालेको अवरोधका हुदाहुदै सञ्चालन भएको छ । बैठक शुरु हुनेवित्तिकै एमाले सांसदहरुले वेल घेर्दै नाराबाजी गरेका थिए । बैठक सञ्चालनमा अवरोध नगर्न सभामुख अग्निप्रसाद सापकोटाले गरेको पटक पटक आग्रहलाई समेत अस्वीकार गर्दै एमाले सांसदले नाराबाजी जारी राखेका थिए ।

एमालेको विरोधकाबीच सभामुख सापकोटाले बैठकका कार्यसूचीहरु अगाडि बढाए । बैठकको कार्यसूचीमा रहेको यौनहिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश मंगलबारको बैठकले स्वीकृत गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले सो अध्यादेशहरु स्वीकृत गरियोस भनि संसदमा प्रस्ताव गरेका थिए । त्यस्तै बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले प्रमुख प्रतिपक्षी दलको विरोधकाबीच अध्यादेश ल्याउन संसदीय मर्यादा विपरित भएको बताउँदै यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने अध्यादेशमाथि विरोधको सूचना पेश गरेका थिए । यौन हिंसा गर्नेलाई मृत्युदण्डको व्यवस्था नभएकाले विरोधको सूचना फिर्ता नलिएका सांसद सुवालका प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए ।