अर्थ

कमलपोखरीमा ९ वटा चैत्य राखियो : अब उदघाटनको तयारी

काठमाडौँ । आज कमलपोखरीमा ९ वटा चैत्य राखिएका छन् । काठमाडौँ महानगरको वडा १ मा रहेको कमलपोखरीको सौन्दर्य बढाउने गुरुयोजनाअनुसार राखिएका चैत्यहरुकोँ महानगरका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसहित अधिकारीले विधिपूर्वक पूजा गरेका थिए । यसअघि पोखरीमा चैत्य राखिएको थिएन ।

पूजापछि प्रतिक्रिया दिँदै मेयर शाक्यले, वेसम्भार अवस्थामा रहेको कमलपोखरीलाई गुरुयोजना बनाएर २ चरणमा काम गरेको बताए । ठेकेदारले १५ दिन भित्र पहिलो चरणको काम सम्पन्न गर्ने भनेका छन् । त्यसलगत्तै पहिलो चरणमा पोखरी उदघाटन गर्छौ । र दोस्रो चरको काम थाल्छौँ । मेयर शाक्यको भनाइ थियो । ‘पोखरी सञ्चालनमा आएसँगै बिहान र साँझपख स्वच्छ हावा र हरियालीको मनोरञ्जन लिदैँ घुमफिर गर्ने उपयुक्त स्थानका रुपमा विकास हुनेछ ।’ शाक्यको भनाइ थियो ।

कोविड महामारीका कारण १ बर्षपछि पोखरीको पुन निर्माण सम्पन्न हुँदैछ । शाक्यले भने, ‘चैत्यसँगै यहाँको सास्कृतिक सम्पदाको संरक्षण र मौलिकता कायम गर्दै कमलपोखरी वरिपरि वृक्षारोपण गर्ने, मठ–मन्दिरको संरक्षण गर्दै पोखरलाई ठमेल, हनुमानढोका, स्वयम्भू घुम्न आउँने पर्यटकको गन्तव्य बनाउँछौँ ।’ कमलपोखरीको पुननिर्माण अघि संघीय र प्रदेश सभा सदस्य, स्थानीय जनप्रतिनिधि, विज्ञ र स्थानीय व्यक्तिहरुसँग लामो छलफल र परामर्श भएको शाक्यको भनाइ थियो ।

महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले स्वच्छ वातावरणसहितको फराकिलो कमलपोखरीमा आइपुग्दा आफुलाई आनन्द महसुस भएको बताइन् । ‘पोखरी पहिला भन्दा व्यवस्थित भएको छ । पोखरीलाई पहिलाको भन्दा पनि व्यवस्थित बनाउँदै यो अवस्थासम्म ल्याउन यहाँका बासिन्दा र सरोकारवालाहरुको ठूलो सहयोग प्राप्त भएको छ । मेरो घर कमलपोखरीबाट नजिकै छ । मेरा लागि पनि बिहान–बेलुका स्वच्छ हावा लिदैँ हरियालीको आनन्द लिने ठाउँ तयार भयो ।’

योजनाका विषयमा कुरा गर्दै प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयालले, पोखरी बास्तुकलाको बेजोड नमुना भएको उल्लेख गर्नुभयो । पोखरी काठमाडौँको संस्कृतिसँग मिल्दो रहेको उल्लेख गरे । काठमाडौँ महानगरपालिकाका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेते कमलपोखरीमा ४ ओटा कुनामा आकर्षक र संस्कृति झल्किने ४ ओटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी ५ ओटा मण्डप रहने जानकारी दिए ।