युक्रेन रसिया द्वन्द्वको कारण नेटो विस्तारः रुसको शुरक्षा खतरामा

युक्रेन रसिया द्वन्द्वको कारण नेटो विस्तारः रुसको शुरक्षा खतरामा

दोस्रो विश्वयुद्धपछि सोभियत संघसँग सम्झौता गर्न बनेको उत्तरी एट्लान्टिक सन्धि संगठन सन् १९४९ अप्रिलमा सन्धिमा हस्ताक्षर गरेर नेटोको स्थापना भएको थियो । यस सैन्य संगठनको स्थापनाको उद्देश्य यसका सदस्य राष्ट्रहरूको सामूहिक सुरक्षा हो । अर्थात यदि कुनै नेटो सदस्य राष्ट्रमाथि विदेशी आक्रमणको वा धम्की आयो भने त्यसलाई सामूहिक रूपमा सुरक्षित गरिने उद्देश्यका साथ स्थापना भएको हो ।

अप्रिल ४, १९४९ मा उत्तरी एट्लान्टिक सन्धि (जसलाई वाशिंगटन सन्धि पनि भनिन्छ) द्वारा स्थापित सैन्य गठबन्धन यसका संस्थापक सदस्यहरू बेल्जियम, क्यानडा, डेनमार्क, फ्रान्स, आइसल्याण्ड, इटाली, लक्जमबर्ग, नेदरल्याण्ड, नर्वे, पोर्चुगल, युनाइटेड किंगडम र संयुक्त राज्य अमेरिका थिए ।

स्थापना काल देखि वर्तमानको अवस्थासम्म आई पुग्दा नेटोले १२ संस्थापक सहित अल्बानिया, बुल्गेरिया, क्रोएसिया, चेक गणतन्त्र, इस्टोनिया, जर्मनी, ग्रीस, हंगेरी, लाटभिया, लिथुआनिया, मोन्टेनेग्रो, उत्तरी म्यासेडोनिया, पोल्याण्ड, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन, टर्की मिलाएर ३० देशहरुलाई नेटोमा सामेल गरिसकेको छ । नेटो आफ्नो शक्ति बढाउन र रुसलाई दबावमा राख्न निरन्तर प्रयास गरिरहेको छ ।

नेटोले विस्तार गर्ने क्रममा १९९९ मा बुल्गेरिया, इस्टोनिया, लाटभिया, लिथुआनिया, रोमानिया, स्लोभाकिया र स्लोभेनियालाई सामेल ग¥यो । त्यो समयमा पनि रुसले नाटो विस्तार नगर्न र मौखिक सम्झताको पालना गर्न भन्यो । २००४ मा अल्बानिया र क्रोएसिया, २००९ मा मोन्टेनेग्रो र २०१७ मा उत्तरी म्यासेडोनियालाई नाटोले सामेल ग¥यो । २०२१ मा नाटोले बोस्निया, हर्जगोभिना, जर्जिया र युक्रेनलाई आफ्नो ’इच्छुक सदस्य’ देशहरूको सूचीमा समावेश गरेको छ । सन् १९९० को दशकमा सोभियत संघको पतनपछि पश्चिमी देशहरूले रुसलाई यो सैन्य संगठन भत्काउने वाचा गरेका थिए तर त्यसो भएन । अमेरिकाको अगुवाईमा नेटोले आफ्नो विस्तार रोक्नुको सट्टा विस्तार गर्नतिर लाग्यो र रुसी प्रभावमा रहेका देशहरूलाई पनि नाटोको सदस्य बनाइयो ।

सन् १९९७ मा रुसको प्रभाव क्षेत्र भएका देशहरुमा नाटोले सामेल ग¥यो यसमा पोल्याण्ड, लिथुआनिया, लाटभिया, रोमानिया, इस्टोनिया आदि पर्छन् । नाटो त्यतिमा मात्र रुकेन २०२१ मा युक्रेन र जार्जिया नेटोमा सामेल गर्ने घोषणा ग¥यो । रुसको विरोधका बाबजुद पनि अमेरिकाले लगातार नाटो देशको संख्या बढाइरहेको छ, यसको पछाडि ठूलो कारण लुके विशेषज्ञहरु बताउछन् ।

अमेरिकी अखबार न्युयोर्क टाइम्सको पुरानो रिपोर्ट अनुसार नेटोको विस्तारको मुख्य कारण अमेरिकाको विशाल रक्षा कम्पनीहरूसँग प्रत्यक्ष सम्बन्धित छ । (Lockheed Martin, Raytheon) लकहीड मार्टिन, रेथियन जस्ता कम्पनीहरूले अमेरिकी सरकारलाई नेटो विस्तार गर्न दबाब दिइरहेका छन् ताकि उनीहरूले ठूलो बजार सिर्जना गर्न सकून् । विश्वको अर्बौं डलरको हतियार बजारमा अमेरिकाका यी ठूला कम्पनीहरूको प्रभुत्व छ । एक प्रतिवेदनका अनुसार यदि कुनै देश नाटोको सदस्य बन्यो भने उसले सैन्य संगठनको नियम पालना गर्नुपर्नेछ र पश्चिमी देशहरूबाट अरबौं डलरको हतियार र उपकरण लिनु पर्ने हुन्छ ।

यस अन्तर्गत कुनै देशले अमेरिकी कम्पनीबाट लडाकु विमान लिएको खण्डमा फ्लाइट सिमुलेटर, पार्टपुर्जा, इलेक्ट्रो नक्सा र इन्जिन सुधार गर्ने उपकरण लिनुपर्नेछ । त्यसैगरी त्यो देशले यातायात विमान, युटिलिटी हेलिकप्टर, अट्याक हेलिकप्टर लिनुपर्छ । यस बाहेक आधुनिक सेनाका आवश्यक सैन्य सञ्चार उपकरण, कम्प्युटर, राडार, रेडियोलगायतका उपकरणहरू समावेश छन् । यी सबैको बिक्रीबाट पश्चिमी देशहरू विशेष गरी अमेरिका र बेलायतका रक्षा कम्पनीहरूले धेरै कमाउँछन् । अमेरिकाले हालै जर्मनी लगायत धेरै देशसँग एफ–३५ लडाकु विमान बेच्ने सम्झौता गरेको छ ।

हाल पोल्याण्डले अमेरिकासँग करिब ६ अर्ब डलरको ट्याङ्की सम्झौता स्वीकृत गरेको छ । यसबाहेक रोमानियालगायत अन्य धेरै देशले अमेरिकाबाट ठूलो मात्रामा हतियार खरिद गरेका छन् । पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले पनि ‘नेटोको विस्तार हाम्रो राष्ट्रिय हितमा छ’ भनेका थिए । प्रतिवेदनका अनुसार कुनै देशले नेटोमा सामेल भएमा अर्बौं डलर खर्च गर्नुपर्ने हुन्छ । नेटोमा सामेल हुने देशहरूले आफ्नो रक्षा बजेट बढाउनु पर्छ । यसबाट अमेरिकी कम्पनीहरुले प्रत्यक्ष फाइदा उठाइरहेका छन् ।

विश्वभर हतियार किनबेच गर्ने संस्था सिप्रीका अनुसार हतियारको बजारमा अमेरिकी कम्पनीहरू अगाडि छन् । अमेरिका विश्वका शीर्ष १०० कम्पनीहरूको शीर्षमा छ । सन् २०२० मा ४१ अमेरिकी कम्पनीहरुले २८५ अर्ब डलरको बिक्री गरेका छन् । यो विश्वव्यापी रूपमा कुल हतियार बिक्रीको ५४ प्रतिशत हो । यी शीर्ष १०० कम्पनीहरूले सन् २०२० मा ५३१ अर्ब डलरको हतियार बेचेका छन् । हतियारको यो बिक्री बढ्दै गएको छ ।

नेटोको विस्तारलाई प्रवर्द्धन गर्न अमेरिकी रक्षा कम्पनीहरूले देशमा राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारहरूलाई अर्बौं डलर ’चन्दा’ दिन्छन् । अमेरिकामा राष्ट्रपतीय निर्वाचन विश्वकै महँगो मध्येको एक हो र यही कारणले गर्दा प्रत्येक राष्ट्रपतिलाई यी कम्पनीका ‘चेरिटि’हरूको पक्षमा दबाव दिइन्छ । चुनाव जितेपछि यी कम्पनीहरूले आफ्नो व्यवसाय प्रवर्द्धन गर्न राष्ट्रपतिलाई जोड दिन्छन् । यही कारण थियो कि सन् १९९७ मा नेटोको विस्तारपछि पूर्वी युरोपका देशहरूले पनि सोभियत लडाकु विमान र हतियारको सट्टा अमेरिकी हतियारलाई महत्व दिन थालेका थिए ।

वर्तमानमा युक्रेनमा जारी युद्धको बीचमा अमेरिका र रुसबीच नेटो विस्तारलाई लिएर निकै तनावपूर्ण अवस्था छ । रुसी राष्ट्रपतिले पश्चिमा राष्ट्रहरुलाई नेटोको विस्तार रोक्नु पर्ने धम्की दिएका छन् । यो धम्कीका बाबजुद अमेरिका आफ्नो अडानमा अडिग छ । वर्तमानमा नेटोको विस्तारलाई लिएर अमेरिका र रुसबीच युद्ध जस्तो अवस्था सृजना हुन थालेको छ । रुसले आफ्नो सिमानामा नेटोको विस्तार रोक्न युक्रेनमा आक्रमण गरेको र केही दिनदेखि भीषण युद्ध चलिरहेको छ । रुसले पश्चिमी देशहरूबाट युक्रेनलाई नेटोमा समावेश नगर्ने आश्वासन खोजिरहेको छ । अर्कोतर्फ अमेरिका लगायत नेटो देशले कुनै पनि स्वतन्त्र देश आफ्नो सैन्य संगठनमा सामेल हुन स्वतन्त्र रहेको बताएका छन् । यति मात्र होइन अमेरिका र अन्य नेटो देशहरूले युक्रेनलाई लगातार घातक हतियार आपूर्ति गरिरहेका छन् । रुसबाट आणविक युद्धको धम्कीको बाबजुद पनि अमेरिका ने टोको विस्तारमा अडिग छ, जसको पछाडि अमेरिका र बेलायतका रक्षा कम्पनीहरूले मनग्य आम्दानी गर्ने मुख्य उदेश्य लुकेको देखिन्छ । -योगेन्द्र प्रताप शाही

 

 

 

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply