स्वास्थ्य

सरकारद्वारा १७ अस्पतालमा कोरोनाको निःशुल्क उपचारको व्यवस्था

काठमाडौं । नेपाल सरकारले कोरोना भाइरसको संक्रमित बिरामीका लागि देशभरका १७ अस्पतालमा निशुल्क उपचारको व्यवस्था गरेको छ । कोरोना संक्रमितको उपचारवापत ती अस्पतालहरुलाई बिरामीको अवस्थाको आधारमा अनुदान दिने व्यवस्था गरिएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जनाएका छन् । ६ वटा प्रदेशका २–२ वटा र बागमती प्रदेशका ५ वटा गरी १७ वटा अस्पतालमा निस्शुल्क उपचारका व्यवस्था गरिएको अधिकारीले बताए ।

प्रदेश १ को कोसी अस्पताल विराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेस प्रदेशको जनकपुर प्रादेशिक अस्पताल जनकपुर र नारायणी अस्पताल वीरगञ्जमा निस्शूल्क उपचारको व्यवस्था गरिएको छ । बागमती प्रदेशको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु , भरतपुर अस्पताल चितवन, वीर अस्पताल काठमाडौं, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौं र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा निस्शुल्क उपचारको व्यवस्था गरिएको छ । गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरि अस्पताल बागलुङमा निशूल्क उपचारको व्यवस्था गरिएको छ ।

यस्तै, लुम्बिनी प्रदेशको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भेरी अस्पताल नेपालगञ्ज, कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेत प्रादेशिक अस्पताल वीरेन्द्रनगरमा निस्शुल्क उपचारको व्यवस्था गरिएको छ। सुदूरपश्चिम अस्पतालमा डडेलधुरा अस्पताल डडेलधुरा र सेती प्रादेशिक अस्पताल कैलालीमा निशुल्क उपचारको व्यवस्था गरिएको अधिकारीले जानकारी दिए ।