स्वास्थ्य

लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि भएको ठेक्का मिलोमतोमा भएको निष्कर्ष

काठमाडौं । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि भएको ठेक्का सार्वजनिक खरिद अनुगमन कार्यालयले ‘सेटिङ’ भएको निष्कर्ष निकाल्दै सच्याउन निर्देशन दिएको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई पत्र काट्दै कार्यालयले किन नियमविपरीतको प्रावधान गरेर ठेक्का भएको हो भन्नने स्पष्टीकरण पनि मागेको छ ।

कार्यलयमा सहसचिव उमेश ढुंगनाका अनुसार नियम विपरीत हुने गरी ठेक्कामा योग्यता र कागजात मागिएकाले त्यसमा स्पष्टीकरण मागिएको बताए । प्राधिकरणले ठेक्कामा भएको त्रुटिलाई सच्याउनुपर्ने कार्यालयले जनाएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी अध्यक्ष रहेको प्रदेश पूर्वाधार प्राधिकरणले ९ असारमा मूल्य अभिवृद्धि करसहित करिव ६ अर्ब ७० करोड लागतको भवन बनाउन टेण्डर आह्वान गरेको थियो ।

यसअघि सेटिङ भएकै कारण रद्ध भएको टेन्डर यसपटक पनि मिलेमतोमै भएको पाइएपछि प्राधिकरणलाई कार्यालयले फेरि पत्र काटेको हो । बोलपत्रमा २ अर्ब ८१ करोड बराबरको ‘डबल बेसमेन्ट’ भवन निर्माणको अनुभव मागिएको थियो । रसुवा कन्स्ट्रक्सन वा शर्मा एन्ड कम्पनीलाई ठेक्का दिलाउने र प्रक्रिया पुरा गर्न २ वटा कम्पनीलाई प्रारम्भिक योग्यतामा पास गराउने गरी सेटिङमा ठेक्का भएको छ ।