अर्थ

१५ जना विदेशि यात्रुसहित ६८ जना सवार यति एयरलाइन्स एटिआर–७२ विमानको पोखरामा दुर्घटना

कास्की । आज आइतबार बिहान ठूलो विमान दुर्घटना भएको छ । यति एयरलाइन्सको विमान एटिआर–७२ मा ५ भारतीय, ४ रुसी, १ आयरिश, २ कोरियन, १ अफगानी र १ फ्रान्सेली चालक दलका सदस्यसहित ६८ यात्रु थिए । अहिलेसम्म जानकारी आए अनुसार हालसम्म ४२ जनाको शव निकालिएको छ । यद्यपी एयरलाइन्स र सरकारको तर्फबाट आधिकारिक धारणा आएको छैन । उद्धार र राहतमा जुटेका मानिसहरूका अनुसार कोही पनि बाँच्ने आशा छैन । नागरिक उड्डयन प्राधिकरणका अनुसार अवतरण हुनुभन्दा १० सेकेन्ड अघि विमानमा आगो देखिएको थियो । त्यसैले खराब मौसमका कारण दुर्घटना भएको भन्न मिल्दैन । यसअघि खराब मौसमका कारण दुर्घटना भएको बताइएको थियो ।

कास्कीको पोखरास्थित पुरानो विमानस्थल र पोखरा विमानस्थलको बीचमा दुर्घटना भएको हो । उक्त विमान काठमाडौंबाट पोखरा जादै थियो । पोखरा विमानस्थल काठमाडौंबाट २०० किलोमिटर टाढा छ । यहाँ पुग्न २५ मिनेट लाग्छ । विमान क्याप्टेन कमल केसी उडाइ रहेका थिए । ६८ यात्रुमध्ये ५३  नेपालीमध्ये ३७ जना पुरुष र २५ जना महिला थिए भने ५ भारतीय, ४ रुसी, १ आयरिश, १ अर्जेन्टिनी, २ कोरियन, १ अफगानी र १ फ्रान्सेली थिए । जसमा ३ नवजात शिशु र ३ बालबालिका रहेका छन् । एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार अहिलेसम्म कसैलाई पनि जीवितै उद्दार नगरिएको जानकारी दिएका छन् ।

पोखरा विमानस्थल एटीसी स्रोतका अनुसार धावनमार्गबाट केही मिटर टाढा दुर्घटना भएको हो । पोखराको धावनमार्ग पूर्व–पश्चिम दिशामा बनेको छ । पाइलटले यसअघि पूर्वबाट अवतरणको अनुमति मागेका थिए र अनुमति पनि लिएका थिए । तर केही बेरमै पाइलटले पश्चिमबाट अवतरण गर्न अनुमति मागे र फेरि अनुमति दिइयो । तर विमान अवतरण हुनुभन्दा १० सेकेन्ड अघि नै दुर्घटना भएको थियो ।
दुर्घटनामा परेको यति एयरलाइन्सको ९एन एएनसी विमानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनको दिन (१ जनवरी २०२३) डेमो उडान गरेको हो । सो विमान ७० यात्रु बोक्ने क्षमताको थियो । यसको अधिकतम गति ३०९ माइल प्रति घण्टा थियो । डबल इन्जिन भएको विमान  प्रैट एंड व्हिटनी  पीडब्लयु १२७ इन्जिनद्वारा संचालित थियो ।