अर्थ

आधुनिक सडक वत्ती जडान गर्न महानगर र प्राधिकरण बिच सम्झौता

काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रका मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गर्न काठमाडौँ महानगर पालिका र नेपाल विद्युत प्राधिकरण बिच सम्झौता भएको छ । यस अघि महानगर पालिका, प्राधिकरण र सडक विभागका बिच भएको सहमतिका आधारमा सम्पन्न सम्झौतामा महानगरका तर्फबाट सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाले र प्राधिकरणका तर्फबाट कानुन विभागका निर्देशक बलराम सिलबालले हस्ताक्षर गरे । बत्ती जडान गर्न ११ करोड ९९ लाख७४ हजार ९२५ रुपैयाँ लागत अनुमान गरिएको छ । यसको ६० प्रतिशत रकम काठमाडौँ महानगरपालिकाले र ४० प्रतिशत रकम नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने छ ।

रातको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन आधुनिक बत्ती जडान गर्न लागिएको हो । स्रोत साधन र प्रविधिको उच्चतम उपयोग गर्दै सडक बत्तीको गुणस्तर तथा यसले सौन्दर्यलाई एक रुपताकाम गर्न साझेदारसँग सहकार्य गरिएको पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापाले जानकारी दिए । महानगर पालिकाको लगानीमा लैनचौर देखि महाराजगञ्जसम्म, माइती घर मण्डला देखि बागबजार सम्म, बागबजार देखि शितलनिबाससम्म, सिनामंगल अन्तरराष्ट्रिय विमानस्थल देखि गौशालाहुँदै कमलपोखरीसम्म, चावहिल देखि जोरपाटीसम्म बत्ती जडान हुनेछन् । यी सडकवत्ती संरचनामा महानगरको पहिचान उल्लेख हुनेछ ।

यसै गरी विद्युत प्राधिकरणको लगानीमा सिनामंगल विमानस्थल देखि तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटीहुँदै कलंकीसम्म, त्रिपुरेश्वर देखि लैनचौरसम्म र टुँडिखेल वरिपरि बत्ती जडान हुनेछन् । यस क्षेत्रमा बत्ती जडान भएपछि जगेडा रहेमा आफ्ना आफ्ना स्वामित्वमा भएका सौर्य बत्ती संरचना र यससँग सम्बन्धित प्यानल, व्याट्रीलगायत सामानको आफैँले पुनःप्रयोग वाव्यवस्थापन गर्नु पर्ने सम्झौतामा उल्लेख छ । जडान सम्पन्न भएपछि सञ्चालन व्यवस्थापन कालागि महानगर पालिकालाई हस्तान्तरण गरिनेछ । यसपछिको मर्मत सम्भार महानगर पालिकाले गर्नेछ । त्यसपछि सडक बत्तीप्रयोग भएवापत्को शुल्क महानगर पालिकाले प्राधिकरणलाई बुझाउनेछ ।