धर्म/संस्कृति

गुरुजनप्रति सम्मान भाव प्रकट गरी आज देशभर गुरु पूर्णिमा पर्व मनाइँदै

काठमाडौं । आज देशभर गुरु पूर्णिमा मनाइँदै छ । असार शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँने गरिन्छ । यस पर्वमा गुरुप्रति कृतज्ञता व्यक्त गर्दै नयाँ वस्त्रआभूषण फेराउने र मिष्ठान्न भोजन गराउने परम्परा छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रमा उल्लेख गरिएको छ । अज्ञानता रुपी अन्धकारको नाश गरी जीवनमा ज्ञानको ज्योति दिने, फैलाउने व्यक्तिलाई नै ‘गुरु’ भनिन्छ । यस्ता गुरुलाई पूर्वीय दर्शन र शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरसहितका त्रीदेवका रुपमा लिइन्छ ।

पूर्वीय दर्शन परम्पराका स्थापित धर्मग्रन्थ वेद, पुराण, उपनिषद, रामायण र महाभारतसहित महाकाव्यका रचयिता महामुनि कृष्ण द्वैपायन (वेदब्यास) को जन्म दिन असार पूर्णिमा नै मानिएको हुँदा उनि प्रतिको सम्मानभावबाट नै हिन्दू परम्परामा यो पर्वको परम्परा बसेको हो ।