Uncategorized

पाकिस्तानी प्रधानमन्त्री अब्बासीको सम्मानमा १९ तोपको सलामी

काठमाडौँ, २१ फागुन । इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणको सिलसिलामा आज अपराह्न यहाँ आइपुग्नुभयो । प्रधानमन्त्रीमा नियुक्त हुनुभएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई शुभकामना दिन पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपाल आउनुभएको हो । पाकिस्तानी सेनाको विशेष विमानबाट यहाँ आउनुभएका प्रधानमन्त्री अब्बासीलाई अर्थ मन्त्री डा युवराज खतिवडा र परराष्ट्र सचिव शंकरदास बैरागीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गर्नुभयो । विमानस्थलबाट प्रधानमन्त्री अब्बासी केहीबेर विश्रामका लागि होटल हायात रिजेन्सी जानुभएको छ । आजै प्रधानमन्त्री अब्बासीको सम्मानमा राष्ट्रका तर्फबाट नेपाली सेनाको एक टुकडीले सैनिक मञ्च टुँडिखेलमा सम्मान गारत(गार्ड अफ अनर) प्रदान गर्नेछ ।

त्यगैगरी, आज साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पाकिस्तानी समकक्षीसँग पारस्परिक हित र चासोका विषयमा विचारविमर्श गर्नुहुनेछ । साथै उहाँले प्रधानमन्त्री अब्बासीको सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग पाकिस्तानका प्रधानमन्त्री अब्बासीले राष्ट्रपति भवन शीतल निवासमा भोलि बिहान शिष्टाचार भेट गर्नुहुनेछ । राष्ट्रपतिसँगको भेट अघि उहाँको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता हुने कार्यक्रम छ । नेपालको दुई दिने भ्रमण पूरा गरी भोलि नै प्रधानमन्त्री अब्बासी स्वदेश प्रस्थान गर्नुहुनेछ ।

पाकिस्तानी प्रधानमन्त्रीका सम्मानमा १९ तोपको सलामी :  नेपालको दुईदिने औपचारिक भ्रमणमा आज यहाँ आउनुभएका इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीको सम्मानमा १९ तोपको सलामी प्रदान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षीलाई सैनिक मञ्च टुँडिखेलको अतिविशिष्ट कक्षमा स्वागत गर्नुभएसँगै अब्बासीको सम्मानमा सम्मान गारद प्रदान गरिएको हो । सो अवसरमा पाकिस्तानी प्रधानमन्त्रीले सम्मान गारद निरीक्षण गर्नुभएको थियो । समारोहमा दुवै देशका राष्ट्रिय धुन बजाइएको थियो ।
समारोहमा पाकिस्तानी प्रधानमन्त्रीले मन्त्रीगण, संवैधानिक निकायका प्रमुख एवं नेपाल सरकारका उच्चपदस्थ अधिकारी एवं प्रधानसेनापति राजेन्द्र क्षत्रीको परिचय लिनुभएको थियो । प्रधानमन्त्री ओली र पाकिस्तानी प्रधानमन्त्री अब्बासीबीच केहीबेरमै औपचारिक रुपमा पारस्परिक हित र चासोका द्विपक्षीय विषयमा छलफल हुनेछ । छलफल सकिएलगत्तै प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी अब्बासीको सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुनेछ