अर्थ-स्वास्थ्य

चालु आर्थिक बर्षमा १० वटा गौरव र २५ वटा स्वर्णिय योजना कार्यान्वयनमा आउने : कामनपा 

काठमाडौँ । चालु आर्थिक बर्षबाट कार्यान्वयनमा आउने काठमाडौँ  महानगरपालिकाका महानगर गौरव र स्वर्णिम योजना सञ्चालन सहजीकरणका लागि ‘गौरव तथा स्वर्णिम योजना सञ्चालन कार्यविधि २०८०’ को मस्यौदा तयार भएको छ । गएको असार २१ गतेको प्रमुख प्रशासकीय अधिकृतस्तरको निर्णय अनुसार योजना, अनुगमन तथा मूल्याङ्कन एकाईका प्रमुखको संयोजकत्वमा कार्यविधि तयार पार्न कार्यदल गठन भएको थियो । कार्यदलका संयोजक एवम एकाईका प्रमुख नरेन्द्र विलास बज्राचार्य सहित सदस्यहरुको टोलीले आज प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई कार्यविधिको मस्यौदा बुझाएको हो ।

मस्यौदा ग्रहण गरिसकेपछिको संक्षिप्त प्रतिक्रियामा प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने, ‘गौरवका योजना र स्वर्णिम योजनासँग महानगरको प्रतिष्ठा जोडिएको छ । सहरी विकास र व्यवस्थापनका वहुपक्षीय आयामसँग जोडिएको छ । यी योजना कार्यान्वयन गर्न क्षेत्रगत कार्यविधि तयार पार्नु पर्नेछ । आज एउटा कार्यविधितयार भएको छ । अन्य कार्यविधि निर्माण गर्न जिम्मेवारी दिइएको छ । सबै प्राप्त भएपछि यसलाई निर्णय प्रक्रियामा लैजान्छौँ ।’

एकाईका प्रमुख बज्राचार्यले, महानगरपालिकाकोे समग्र विकास तथा सुधार गर्न, रणनीतिक र रूपान्तरणकारी योजना कार्यान्वयनमा कार्यविधिले सहजीकरण गर्ने धारणा राखेका थिए ।

इकाईका उपनिर्देशक प्रहलाद घिमिरेका अनुसार स्वर्णिम र गौरवका योजना कार्यान्वयनको समग्र पक्षलाई सहजीकरण गर्न सघाउ पुगोस् भन्ने उद्देश्यले यो कार्यविधि तर्जुमा गरिएको हो । कार्यविधिमा ७ वटा परिच्छेद र ३ वटा अनुसूची राखिएका छन् ।

निर्देशक समिति, कार्यसमिति, यी समितिका काम, कर्तव्य र अधिकार, शहरी योजना आयोग, विभाग, एकाई र सम्पर्क व्यक्तिको कामकर्तव्य र अधिकार, बजेट, अनुगमन, मूल्याङ्कन तथा प्रतिवेदनको व्यवस्था कार्यविधिमा मुख्य विशेषता भएको उपनिर्देशक घिमिरेले जानकारी दिए ।

कार्यदलमा प्रशासन विभागका प्रमुख दिपक अधिकारी, कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्य, खरिद एकाईका प्रमुख डा. शिवराज अधिकारी, उपनिर्देशक (वित्तविभाग) विकास चित्रकार, उपनिर्देशक (योजना, अनुगमन तथा मूल्याङ्क एकाई) प्रहलाद घिमिरे सदस्य थिए । यसैगरी सङ्घीय तह र प्रदेश तहको समेत प्रतिनिधित्व हुने गरी राष्ट्रिय योजना आयोगका अधिकृत प्रतिनिधि कैलाश न्यौपाने र बागमती प्रदेश अन्तर्गतको सहरी विकास तथा भवन कार्यालयका अधिकृत प्रकाश गजुरेल र बागमती प्रदेश अन्तर्गतकै पूर्वाधार विकास कार्यालय ललितपुरका अधिकृत प्रतिक्षा सिलबाल सदस्य थिए भने योजना, अनुगमन तथा मूल्याङ्कन एकाईका लेखा अधिकृत मनोज श्रेष्ठ सदस्य सचिव थिए ।