स्वास्थ्य

महानगरले थाल्यो, डेंगी फैलाउने लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान  

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डेंगी रोग नियन्त्रण गर्न लार्भा नष्ट गर्ने अभियानलाई तीब्र बनाउने भएको छ । यसका लागि ६४ जना नगर प्रहरीलाई खटाइएको छ । उनीहरु वायो लार्भिसाइडसहित हरेक वडामा जानेछन् । पानी जमेको ठाउँ खोज्नेछन् । त्यहाँ लार्भिसाइड छर्किनेछन् । यसका लागि आज राष्ट्रिय सभा गृहबाट कार्यक्रम आरम्भ गर्दै फिल्डमा जाने नगर प्रहरीहरुलाई प्राविधिक र व्यवहारिक सिप सिकाइएको छ ।

शुरुवात र प्रशिक्षण कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले सबै मिलेर मात्र डेंगी नियन्त्रण गर्न सकिने धारणा राखे । ‘हामी सार्वजनिक ठाउँमा लामखुट्टेको बासस्थान नष्ट गर्छौँ । तपाई (आम सर्वसाधारणले) घरमा पानी जम्न नदिएर हामीलाई सहयोग गर्नोस् । यसले तपाईँलाई डेँगीबाट बचाउनेछ ।’ हरेक व्यक्ति महामारीको सम्भावित जोखिमका विषयमा सजग हुने हो भने ठूलो खतरा सजिलै टार्न सकिन्छ । उनको भनाइ थियो ।

डेंगी नियन्त्रणका लागि चलाइएका नियमित कार्यक्रमहरु यथावत छन् । हामीले यो थप कार्यक्रम गरेका हौँ । स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले भने, आम नागरिकसँग, सँगै काम गर्न यो अभियान थालिएको हो । रोग सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरुको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । पानी जमेको ठाउँमै लामखुट्टेको प्रजनन प्रक्रिया नष्ट गरेर हामीले महामारीलाई नियन्त्रण गर्न थालेका हौँ ।

अहिले बर्खे पानी रोकिएको छैन । आकाशे पानी सडक र सडक किनाराका खाल्टाखुल्टी, सार्वजनिक स्थलमा जम्मा भइरहेको छ । लार्भा खोज्ने तथा नष्ट गर्दा यस्ता ठाउँलाई प्राथमिकता दिइनेछ ।

लार्भा नष्ट गर्न प्रयोग गरिने औषधि जैविक हो । यसले लामखुट्टे र त्यसका लार्भालाईबाहेक कसैलाई पनि हानी गर्दैन । यो विषादि होइन । औषधिलाई पानीको माथिलो भागमा छर्कनु पर्दछ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ । औषधिले डेंगीसहित, फिलारिया, औलो (मलेरिया), चिकन्नीयाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुनेछ ।

तालिममा महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका सम्पर्क  व्यक्ति ऋषिप्रसाद भुषालले, छर्कने उपकरणको प्रयोग, यसमा राखिने पानी र औषधिको मात्रा लगायत विषयमा प्रयोगात्मक जानकारी दिएका थिए । १० लिटर पानीमा २५० मिलिलिटर औषधि यसको मात्रा हो ।

बर्खायाम सुरु भएसँगै डेंगी रोग नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले वडास्तरीय र जनसहभागितामूलक कार्यक्रमहरु गरिरहेको छ । हरेक हप्ताको बुधबार विहान ८ बजेदेखि ९ बजेसम्म वडामा लार्भा खोज र नष्ट गर्ने अभियान चल्ने गरेको छ । त्यस्ता ठाउँमा सरसफाइ गर्ने र औषधि छर्कने गरिन्छ । सरकारी तथा संस्थागत बिद्यालयमा अध्ययनरत बिद्यार्थी बिचमा डेंगी रोग सम्बन्धी चित्रकला प्रदर्शनी गरी अभिभावकसम्म संक्रमणका बारेमा चेतना पु¥याउने प्रयास गरिएको छ ।

यससँगै डेङ्गी रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालनमा छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्य प्रवर्धन केन्द्रहरुमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको छ ।