अर्थ-स्वास्थ्य

मिठाइ र दुग्धजन्य उत्पादन तथा विक्री प्रबन्ध स्वच्छ बनाउन उपभोक्ता हित सरक्षण समितिको आग्रह

काठमाडौँ । तिहारमा अधिक प्रयोग हुने दुधजन्य खाद्यबस्तु तथा मिठाइको गुणस्तरीय उत्पादन र स्वच्छ विक्री वितरण व्यवस्था मिलाउन काठमाडौँ महानगरपालिकाकी उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोल व्यवसायीहरुलाई आग्रह गरेकि छिन् । बुधबार काठमाडौँ प्लाजामा मिठाइ, दुधजन्य परिकार तथा खाजाका परिकार उत्पादन तथा विक्री गर्ने व्यवसायीका संघसंस्थाका प्रतिनिधिहरुलाई बोलाएर यस्तो आग्रह गरेको हो ।

‘व्यवसायीको व्यवसायिक गतिविधिलाई सहज बनाएर आर्थिक क्रियाकलाप नियमित गर्नु हाम्रो जिम्मेवारी हो । यो जत्तिकै महत्वपूर्ण जिम्मेवारी उपभोक्ताहरुलाई स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ प्राप्त गर्ने अधिकार उपलब्ध गराउनु हो ।’ डंगोलले भनिन हाम्रो अनुगमन कसैलाई हतोत्साह गर्नका लागि होइन । अनुचित क्रियाकलाप नगर्नेहरुले अनुगमनसँग डराउनै पर्दैन । हामीले कारवाहीलाईभन्दा सुधारका कामलाई महत्व दिएका छौँ । अनुचित व्यवसायिक क्रियाकलाप गरेका कारण यो तिहारमा कसैलाई कारवाही गर्न नपरोस् । यसमा तपाईँहरुले सहयोग गर्नोस् । धेरै व्यक्तिलाई कारवाही गर्ने, कारवाहीबाट धेरै राजस्व सकलन गर्ने हाम्रो चाहना छँदै छैन ।’ उनले थप्दै भनिन भनेर पनि सुधार नगर्नेलाई त कारवाही गर्नुको विकल्प हुँदैन ।’

छलफलमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले भने सानातिना अवस्थामा सुधार गर्न नसक्दा व्यवसायको स्वच्छता संकटमा पर्छ । सबै गलत छैनन् । हामीलाई थाहा छ । २० लिटर सफा पानीमा एक लिटर फोहोर पानी मिसाइयो भने सबै पानी पिउन अयोग्य हुन्छ । हामी अब राम्रा र नराम्रालाई बर्गीकरण गर्छौँ ।’

त्यस क्रममा महानगरपालिकाका खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका विशेषज्ञ सल्लाहकार जीवनप्रभा लामाले, खाद्य प्रविधि तथा गुण नियन्त्रणका लागि जारी भएका मापदण्डको पालना गर्नेमा व्यवसायी आफैँ सचेत हुनुपर्नेमा जोड दिए । गलैँचा रङ्गाउन प्रयोग गरिने रङ्ग मिठाइमा भेटिएको विगत अनुभव सुनाउँदै उनले भने गाढा रङ्ग देखिएका खानेकुराबाट उपभोक्ता जोगिनु पर्छ ।’ उनले मिठाइ बनाउने र तयार पारिएका मिठाइ जोगाएर राख्ने प्रक्रियाका विषयमा व्यवसायीलाई सुझाव दिँदै भने स्वच्छ कच्चा पदार्थको प्रयोग गरेर मिठाइ बनाउनु, मह, घिउ जस्ता प्राकृतिक खाद्य बस्तुको प्रयोग गरेर संरक्षण गर्नु ।’

खाद्य स्वच्छताका लागि हामी व्यवसायीलाई मात्र भनिरहेका छैनौँ । महानगरपालिकाले सरसफाइ, सजावट, खाद्य बस्तुको सुरक्षालगायत विषयमा तालिम प्रदान गर्ने योजना बनाएको छ । बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर सल्लाहकार सन्तोष गिरीले भने तालिमपछि होटल, मिठाइ पसल र रेष्टुरेन्टहरुको स्वच्छता जाँच गर्ने प्रणाली विकास गर्नेछौँ । यो प्रणाली कार्यान्वयनसँगै खानेकुरा विक्री गर्ने व्यवसायको भौतिक अवस्था, सुविधाजस्ता सूचकका आधारमा स्टिकर लगाएर बर्गीकरण गर्ने योजना छ ।’ होटलमा प्रयोग गरेर फाल्नु पर्ने तेल व्यवस्थापनका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानसँग सहकार्यका लागि छलफल अगाडि बढिसकेको गिरीको भनाइ थियो ।

छलफलमा स्वीट एण्ड स्न्याक्स एशोसिएसनका अध्यक्ष सुमन सायमीले, दर्ता प्रक्रियामा आएर सरकारको मापदण्ड मान्छु भन्ने व्यवसायीहरु पीडामा रहेको बताए । ‘दर्ता नभएकाले गलत गर्छन् । उनीहरु कर पनि तिर्दैनन् । भनेको पनि मान्दैनन् । उनीहरुका कारण व्यवसाय नै बदनाम भएकोले दर्ता प्रक्रियाबाट सुधारको थालनी गर्नुपर्छ । हामी महानगरपालिकालाई चाहिएको सहयोग गर्छौँ ।’
बैठकमा डेरी एशोसिएसनका प्रतिनिधिले, व्यवसायिक डेरी सञ्चालन गर्नेले स्वच्छताको मापदण्ड पालना गरेको धारणा राखे । दूध दही विग्रिने वित्तिकै उपभोक्ताले थाहा पाउने अवस्थाको हुन्छ । यसलाई विक्री गर्नै नसकिने उनको भनाइ थियो ।

छलफलमा, महानगरपालिकाको अनुगमनबाट गलत गर्ने व्यापारी कारवाहीमा पर्ने तर व्यवसाय सञ्चालन हुने अवस्था हुनुपर्ने वातावरण हुनुपर्ने बताएका थियो । व्यापारीले गल्ती गर्ने हो । व्यापार आफैँमा गलत होइन । सकिने ठाउँमा अनुगमनबाट सुधारको मौका दिनुपर्छ । मिठाइ बनाउँदा कतिपय कच्चा पदार्थ अरुको उत्पादन लिनु पर्ने हुन्छ । उसले गलत सामन दिएको रहेछ भने त्यसको भागीदार आफैँ बन्नु पर्ने अवस्था छ । महानगरपालिकाले मापदण्ड बनाएर मात्रा र कच्चा पदार्थको गुणस्तर कायम गरिदिने हो भने हाम्रो उत्पादनको स्वच्छतामा समस्या हुँदैन । बजारमा पाइने पिठो, घिउ, चामल, मसला, किनेर ल्याएर मिठाइ बनाउनु पर्छ । मिठाइ बनाउन कति सामान अघिल्लै दिनबाट भिजाउनु पर्छ । यस्ता सामन बुझ्ने टोली भयो भने व्यापारीलाई उत्तर दिन सहज हुने उनिहरुको भनाइ थियो ।
अनुगमनका क्रममा सञ्चार क्रियाकलापका विषयमा कुरा गर्दै व्यवसायीहरुले, व्यवसायिक धर्मको पालना नगरी सूचना प्रवाह गर्ने परिपाटीले व्यवसाय संकटमा परेको गुनासो गरे । आम सञ्चारले विषयको गहिराइ नबुझि, सत्य जाँच नगरी सूचना प्रवाह गर्दा बर्षौँ लगाएर कमाएको इज्जत एकै छिनमा स्वाहा हुन्छ । व्यवसाय बन्द गर्नु पर्ने अवस्था आउँछ । यसले सिर्जना गर्ने अवस्थाप्रति महानगरपालिकाले पूर्वानुमान गर्नुपर्छ । उनिहरुको भनाइ थियो ।

छलफलमा स्वस्तिक स्वीट्स, पवन स्वीट्स, टिपटप स्वीट्स, उज्जल डेरी, लक्ष्मी चाट हाउस, विश्रान्ति फुड्स, पूजा स्वीट्स, साजन गोठ, नन्दन, बर्फी गोठ, गुलाब स्वीट्स, पशुपति फुड्स, आँगन, रामेश्वर स्वीट्स, कृष्ण फुड्सलगायत मिठाइ तथा डेरी सञ्चालकहरु सहभागी थिए । यस्तै अन्नपूर्ण मिठाइ, पशुपति मिठाइ, शिवशंकर स्वीट्स एण्ड चाट हाउस, शिव फुड्स प्रा. लि., दिलिप स्वीट्स, सन्तोष मिठाइ, न्यु सुरज मिठाइ भण्डार, काभ्रेपाल्चोक मिठाइ भण्डार, ओम सहयोगी नेपाल स्वीट्स सेन्टर, धनुषा एण्ड धनुषा मिठाइ भण्डार, संगम स्वीट्स लगायत मिठाइ पसलका सञ्चालक सहभागि थिए । उनिहरु डेरी उत्पादन तथा मिठाइ र स्न्याक्स जस्ता खाद्य बस्तु उत्पादकसँग सम्बन्धित संघ संस्थामा आवद्ध हुन् ।

छलफलमा कच्चा पदार्थको उपलब्धता, तत्काल विग्रिने र केही दिन राखेर प्रयोग गर्न सकिने खाद्य बस्तु, व्यवसाय सञ्चालन भएको ठाउँको स्वच्छता, सफाइ, भण्डारण, ढुवानी, विक्री व्यवस्था, तेल जस्ता पुन प्रयोग गर्न नसकिने बस्तुको व्यवस्थापनमा छलफल भएको थियो ।