विविध

वडास्तरीय कर अनुगमन सुरु : बहालमा झुटो विवरण फेला, अग्रिम कर दाखिला गर्नेलाई आभार पत्र

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका वडाहरुले वडास्तरीय राजस्व अनुगमन गरेर लगत संकलन कार्य थालेका छन् । सम्पत्ति, वहाल र व्यवसाय कर बुझाउनु पर्ने दायित्व भएका करदाताहरुमध्ये अग्रिम कर बुझाउनेप्रति आभार प्रकट गर्न, छुट सुविधाका विषयमा जानकारी दिन, कर नियमित तिर्नका लागि प्रोत्साहन गर्न र दायरामा नआएका करदाताहरुको विवरण संकलन गर्नका लागि स्थलगत अनुगमन थालिएको हो ।

अनगुमनका क्रममा अनलाइन माध्यमबाट कर तिर्न प्रोत्साहन गरिनेछ । भदौ ३ गतेको प्रमुख प्रशासकीय अधिकृत स्तरीय निर्णयबाट राजस्व विभागले वडाहरुलाई पत्र पठाउँदै अनुगमन टोली सम्बन्धी व्यवस्था, टोलीले गर्नु पर्ने कामका विषयमा जानकारी गराएको छ । यसबमोजिम वडाहरुले वडा सदस्यको नेतृत्वमा ३ सदस्यीय अनुगमन टोली गठन गरेका छन् । टोलीमा कर्मचारी १ जना र स्थानीयमध्ये एक जना सदस्य रहेकाछन् ।

टोलीले सचेतनाका साथै कर तिर्नका लागि वडामा आउन वा अनलाइनबाट तिर्न मौखिक अनुरोध गर्नेछ । मौखिक अनुरोधको अटेर गर्नेलाई वडा सचिवमार्फत पत्राचार हुनेछ । स्थलगत अवस्थाको विवरण संकलन गर्नेछ । संकलित विवरण कम्प्युटरमा भरेर तथ्याङ्क तयार पार्नेछ । यसको विवरण राजस्व विभागमा पठाउनेछ ।

वडा नं. १३ कालीमाटीले आजदेखि अनुगमन थालेको छ । पहिलो दिन ताहाचल क्षेत्रको अनुगमन भयो । त्यस क्षेत्रमा गोदाम धेरै छन् । अधिकांश गोदाम दर्ता छैनन् । वडा सदस्य रामबाबु कोइरालाले भने ७ तले घरले ७ हजार बहाल सम्झौता देखाएका छन् । जवकि हरेक भूमिगत तला र जमिन तला व्यवसायिक प्रयोजनमा देखिन्छन् । त्यसमाथिका तला वहालमा लगाइएको छ । एउटै तलामा ७ वटा भन्दा धेरै कोठा छन् । हरेक कोठाको ७ हजारभन्दा धेरै वहाल उठाउने गरिएको छ । यसरी करदाताले झुटो विवरण दिएपछि अनुगमन थालिएको हो ।
अर्का वडा सदस्य रुपेश महर्जन भन्छन, प्लाष्टिकका ठूला ठूला गोदामलाई करको दायरामा ल्याउन सकिने अवस्था देखिँदैन । यस्ता गोदाम आगलागीका दृष्टिले उच्च जोखिममा छन् । ताहाचलबाहेक अन्य ठाउँमा खाद्यान्न, औषधि, तरकारी, फलफुल, लत्ताकपडाका ठूला ठूला गोदाम घर छन् । वडाले अनुगमनका लागि टोली गठन गरेर क्षेत्र छुट््याएको छ । मैया देउलाको संयोजकत्वमा रहेको टोलीमा नग्मा महर्जन (कर्मचारी) र अमृत थापा क्षेत्री (स्थानीय) सदस्य हुन । यस्तै रजनी महर्जनको संयोजकत्वमा रहेको टोलीमा रोमिन रञ्जित (कर्मचारी) र शशिकर थापा (स्थानीय) सदस्य हुन । रुपेश महर्जनको संयोजकत्वमा गठित समितिमा सुजनकुमार झा (कर्मचारी) र मिलन महर्जन (स्थानीय) सदस्य हुन ।

उनिहरुलाई पुस मसान्तसम्मको दिनको कम्तीमा ४ घण्टा अनुगमन गर्ने गरी जिम्मेवारी दिइएको छ । उनिहरुलाई राजस्व ऐन २०७५ र महानगरपालिकाले जारी गरेका आर्थिक ऐनहरु, ज्येष्ठ १ गते बसेको कार्यपालिकाले गरेको निर्णय र राजस्व विभागले विभिन्न मितिमा गरेका परिपत्र अनुगमन टोलीका जिम्मेवारी, दायित्व र सीमा हुन् । कालीमाटी, रविभवन, सोल्टीमोड, कलंकी, ताहाचल, कुलेश्वर वडा १३ मा पर्छन् । वडामा ९ हजार १२२ व्यवसायीले नियमित रुपमा कर व्यवसाय कर तिर्ने गरेका छन् ।