विचार/अन्तर्वार्ता

मान्छेले आफूले गरेको गल्ती स्वीकार गर्ने क्षमता राख्नुपर्छ : सन्तोष अधिकारी

२२ वर्षदेखि मनभित्र ठूलो पर्दामा ’हिरो’ हुने सन्तोष अधिकारीको सुसुप्त चाहाना, कोरोनाको लकडाउनमा राम्रैगरी बिउँझियो । मोबाइलको क्यामरा अगाडि उभिएर थुप्रै भूमिकाहरुको र अभिनयका नवरसहरुमा आफूलाई नियाले । घरी नक्कल उतारे, घरी आफैलाई जगाए । टिकटकमा थुप्रै भिडियो बनाए र ड्राफ्टमा थुपारे । उनको यो हर्कतले पत्नी र छोरा त दिक्दार नै भए । छोराको हातमा क्यामरा थमाउँदै खिच्न सहयोग माग्दा बाबुको हर्कतका कारण हैरान छोराले मुखै फोरेर दिक्दारी पोख्यो – ओ ड्याड कम अन । ’चित्रा’ फिल्मबाट नेपाली रजतपटमा डेब्यू गर्न लागेका अधिकारीले आफ्नो अभिनयको उत्कठ चाहाना ’सिनोप्सिस’ सुनाए । त्यसो त उनी ’आमा’, ’घर’ लगायतका सिनेमाका निर्मातामध्येका एक हुन् । निर्माताको अनुभवपछि उनी अभिनयको परिक्षा दिन तयार भएका छन् । पुस २९ गते ’चित्रा’ रिलिज हुँदैछ । फिल्मलाई लिएर उनी उत्साहित छन् । डबिङ्मा आफूलाई पर्दामा हेर्दा दंग परेका उनले यो फिल्मबाट राम्रै आशा राखेका छन् । उनको यही फिल्म र उनको डेब्यू यात्राका बारेमा कुरा गर्दा उनी यस्तो सुनिए:

’चित्रा’को मनपरेको कुरा के हो?
कन्टेन्ट ।

चित्रमा जुन तपाईंले निर्वाह गर्नु भएको पात्र छ, त्यो पात्रलाई कसरी न्याय गर्नसक्छु जस्तो लाग्यो?
यो एउटा बाबुको भूमिका हो, जसका सन्तानहरु छन् । म आफै पनि एउटा बाबु हुनुको नाताले यसको भावना राम्ररी बुझ्छु ।

पर्दाभित्र र बाहिरको बाबुमा के फरक हुन्छ नि?
पर्दामा पनि वास्तविक जीवनका भोगाइहरुलाई नै प्रस्तुत गर्ने हो, केही संशोधनसहित । त्यसैले त्यसले बोक्ने भावनामा उतिसारो फरक छैन ।

यसका लागि केकस्तो तयारी गर्नुप¥यो?
व्यापकचाँहि नभनूँ । जीवनले धेरैकुराहरु सिकाएको छ, अब एक्टिङ सिकेको आदिइत्यादी कुराहरु गरेर त्यसलाई ज्यादा उच्च कुरा गरियो पनि नभनूँ । मैले यस पात्रलाई प्रत्येक पलहरुमा अनुभव गरेको छु । त्यही अनुभवको अनुभूतिलाई पात्रसँग जोडेको छु । यसमा अभिनय सिकेको, नाच सिकेको कुरालाई म एउटा गणित ठान्दछु । त्यही गणित र अनुभवको अनुभूतिलाई मिसाएर मैले यो पात्रमा आफूलाई उभ्याउने काम गरेको छु । यसका लागि केही समय भने लाग्यो मलाई । यो पात्रका विभिन्न चरणहरुलाई सूक्ष्म ढंगले अध्ययन गरेर यसो गर्दा ठीक हुन्छ वा यसचाँहि गर्दा गज्जब हुन्छ भन्ने ठानेर गरेको छु ।

तपाईंको परिभाषामा एउटा अभिनेता के हो ?
आफ्नो भूमिकालाई अभिनयका माध्यमबाट न्याय गर्न गर्नसक्ने मान्छे, जसले आफ्नो चरित्रको सूक्ष्मतालाईसमेत प्रस्तुत गर्नसक्छ ।

चित्रामा गरेको भूमिकामा आफूले कति न्याय गरेछु जस्तो लाग्छ?
डबिङमा हेर्दा मैले मेरो पात्रलाई सयमा सय न्याय गरेको छु भन्ने भान भयो । म आफ्नो प्रशंसा आफै गरेर रमाउने मान्छे होइन, अरुले गर्दा मात्र आफ्नो कामले न्याय पाउँछ भन्नेमा विश्वास राख्छु । दर्शक बनेर हेर्दा म आफै दंग परें, मैले न्याय गरेछु भनेर ।

यो फिल्मबाट तपाईंलाई प्राप्त हुने कुरा के हो?
यसले सन्तोष अधिकारी एउटा अभिनेता हो भन्ने परिचय दिन्छ जस्तो लाग्छ ।

अभिनेता भएँ भनेर भन्नलाई तपाईंको कति वर्षको मेहेनत प¥यो?
२२ वर्ष नै भनम्, अब गणितिय मेहेनतचाँहि ४–५ वर्ष भनम् न । बिचमा कोरोना महामारी आयो त्यो बेलामा मोबाइलमा आफूलाई थुप्रैपटक रेकर्ड गरेर हेरे । मैले यो काम यति गरें कि मेरो पारा देखेर मेरो बच्चा र पत्नी हुनुसम्मको दिक्क भए । टिकटक पनि बनाएँ, यसका लागि छोराको सहयोग माग्थे, ऊ यत्ति दिक्क भयो कि ओ ड्याड कम अन भन्थ्यो । त्यो सम्मको अवस्था भयो । म फेरि गर्नुपर्छ भनेपछि लागिपरेको प¥यौ गर्ने मान्छे परें ।

फिल्ममा निर्मातासमेत हुनुहुन्छ, त्यसैले यसको सारा जसअपजस तपाईंमाथि आउनेवाला छ, त्यसका लागि तयार हुनुहुन्छ?
म सबै कुरा फेस गर्न तयार भएरै आएको हुँ । अब यसमा आउने भनेको युनिभर्सल कमेन्टहरु हुन्, तिनले मलाई खुशी नै दिन्छ । मान्छेले आफूले गरेको गल्ती स्वीकार गर्ने क्षमता राख्नुपर्छ । मैले त कुनै गल्ती गरेको नै छैन । यसमा म कार्यकारी निर्मातामात्र हो, निर्मातामा अरु साथीहरु हुनुहुन्छ । नाम देखिंदा म अगाडि छु, त्यस कारणले म जेजस्तो परिणाम आउँछ त्यसको सामना गर्न तयार छु ।

चित्राको विषयवस्तु मनपरेको छ भनेर अघि भन्नुभयो, मनपरेको विषयवस्तु कति प्रतिशत पर्दामा रुपान्तरण भएको पाउनुभयो ?
मैले ६०–७० प्रतिशत रुपान्तरण भएको पाएको छु । निर्देशकको कोणबाट त निर्देशकले उचित जवाफ दिनुहुनेछ यसमा । फेरि मलाई यो पनि थाहा छ कि स्क्रिप्टको ३०–४० प्रतिशत निकाल्नसक्नु भयो भने पनि त्यो फिल्म सफल हुन्छ ।

यो फिल्ममा सबैभन्दा बढि मनपरेको कुराचाँहि के हो?
यसमा मनपरेको कुरा एउटामात्र छैन, दुई चार वटा नै छन् । फ्यामिली ड्रामा, एक्सन, गीतसंगीत सबै नै मनपरेको छ ।

कुन खाले दर्शकले यो फिल्मलाई मनपराउलान?
यो सबैखाले दर्शक लक्षित पारिवारिक फिल्म हो । पारिवारिक कथाबस्तु त्यसमथि बाबुछोरीको कथा भएकाले यो वर्गविशेष भन्दा सबै दर्शकको रोजाइमा पर्ने फिल्म हो । अस्ति भर्खर हामीले १० वर्ष मुनीका बालबालिकालाई निशुल्क फिल्म देखाउने कुरा सार्वजनिक गरि नै सकेको कुराबाट पनि यो फिल्म सबै दर्शकका लागि हो भन्ने त छर्लङ्ग भइसक्यो ।

फिल्ममा तपाईंलाई कुनै कुरा गर्दा गार्हो सजिलो के भयो?
त्यस्तो केही गार्हो त भएन । फाइट आदि कुराहरु पहिले नै पूर्वाअभ्यास प्रशस्त गरें । अब काम गर्दा भएको शारिरिक थकाइलाई त के गार्हो भयो भनेर भन्नु होला ।

आफू बाहेक फिल्ममा कस्को काम धेरै मनप¥यो?
म बाहेक यो फिल्ममा सबै प्रमाणित अभिनेताअभिनेत्रीहरु हुनुहुन्छ, यस्तोमा मैले मलाई को धेरै मनप¥यो भनेर मूल्यांकनसहित भन्ने मेरो क्षमता छैन्, बरु उहाँहरुलाई सोध्नुहोला म कस्तो अभिनेता निस्किए भनेर?–परिवर्तन भट्टराई