Uncategorized

राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदाता नामावली स्वीकृत

काठमाडौ । मिति २०८०/१०/११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज आयोगबाट मतदाता नामावली स्वीकृत भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानूनी व्यवस्था भए बमोजिम प्रदेश सभा सदस्य ५४९ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १४९८ जना गरी जम्मा २०४७ जनाको मतदाता नामावली स्वीकृत भएको हो । स्वीकृत नामावलीमा प्रदेश सभा सदस्यतर्फको कूल मतदाता ५५० मध्ये निधन भएका प्रदेश सभा सदस्य १ जनाको नाम हटाइ ५४९ जना कायम गरिएको छ । त्यसैगरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको कूल मतदाता १५०६ जनामध्ये निधन भएका गाउँपालिका अध्यक्ष १, उपाध्यक्ष १, नगरपालिका उपप्रमुख १ र निलम्बनमा परेका गाउँपालिकाका अध्यक्ष १, नगरपालिकाका प्रमुख ४ गरी जना ८ को नाम हटाइ कूल १४९८ जनाको नामावली स्वीकृत गरिएको छ। स्वीकृत मतदाता नामावली आयोगको वेवसाइटमा समेत प्रकाशन गरिएको छ ।

निर्वाचन कार्यक्रम बमोजिम मिति २०८०/०९/२० गते निर्वाचन अधिकृतको कार्यालयमा उक्त मतदाता नामावली प्रकाशित हुनेछ र प्रकाशित मतदाता नामावलीमा कुनै मतदाताको नाम समावेश हुन छुटेको भए नाम समावेश गर्न, नाम समावेश भएको व्यक्तिको नाम, थर, उमेर, पद आदि विवरण सच्याउनु पर्ने भए सच्याउन र मतदाताको विरोधमा उजुरी दिनुपर्ने भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सकिनेछ भने पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।

उल्लिखित मतदातामध्ये प्रदेश सभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ रहेकोले मिति २०८० माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रदेश सभा सदस्यको कूल मतभार २९,०९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कूल मतभार २८,४६२ गरी जम्मा ५७,५५९ मतभार रहेको निर्वाचन आयोगले विज्ञप्ति मार्फत जनाएको छ ।

साथै मिति २०८०/१०//११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले प्रत्येक प्रदेशमा एक एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई दुई वटा मतदान केन्द्र रहने गरी जम्मा ७ मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको छ । कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, मोरङ, मधेश प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाम, धनुषा, बागमती प्रदेशका लागि श्री भुटनदेवी मा.वि. प्राविधिक शिक्षालय, ब्लक प्राविधिक भवन, हेटौडा, मकवानपुर, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, कास्की, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही, दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिमम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढी, कैलालीलाई मतदान स्थल तोकिएको छ ।

तोकिएका मतदान स्थलमा प्रदेश सभाका सदस्यले मतदान गर्न र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नका लागि बेग्ला बेग्लै मतदान केन्द्रहरू रहनेछन् । मतदान केन्द्रको विवरण आयोगको वेवसाइटमा समेत प्रकाशन गरिएको छ । तोकिएका मतदान केन्द्रमा मिति २०८०/१०/११ गते बिहान ९ः०० बजेदेखि अपरान्ह ३ः०० बजेसम्म मतदानको कार्य हुनेछ ।