नेपाल पत्रकार महासंघको निर्वाचनका क्रममा प्रेस सेण्टरको भूमिकाले गम्भीर प्रश्नहरू उठाएको छ । महासंघको नेतृत्व चयनमा स्वायत्तता कायम राख्न नसक्नुले संगठनको प्रभाव र गरिमामा ठूलो धक्का लागेको छ । विशेषतः निर्मला शर्माको उम्मेदवारी बालुवाटार पु¥याएर तत्कालीन प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रत्यक्ष संलग्नतामा भएको चयनले संगठनको स्वायत्तता समाप्त भएको स्पष्ट देखिन्छ । एमाले र माओवादी केन्द्रको गठबन्धन टुटेर एमाले कांग्रेसको गठबन्धन बनेपछि एमालेको प्रस्तावमा निर्मला शर्मा नै अध्यक्षको उम्मेदवार बनिन ।
जसले बनाए पनि बालुवाटारबाट बनाएको महासंघको वर्तमान नेतृत्वले श्रमजीवी पत्रकार, स्वरोजगारमूलक पत्रकारिताको पक्षमा भन्दा पनि सरकारकै पक्षमा गीत गाउने सम्भावना बढी छ । पर्याप्त छलफलको अभाव, नेतृत्व चयनमा पारदर्शिताको कमी र पार्टीको प्रत्यक्ष निर्देशन, हस्तक्षेपले प्रेस सेण्टरको प्रभावलाई महासंघभित्र कमजोर बनाएको छ । यसपटक प्रेस सेण्टर एक्लै लड्ने स्थितिमा थियो । रणनीतिक सोच र पहलको अभावले कमजोर परिणाम ल्याउनु परेको छ । प्रेस सेण्टरका इञ्चार्ज अग्नि सापकोटा र अध्यक्ष विष्णु सापकोटाको भूमिकाले संगठनको स्वायत्ततालाई प्रतिकूल असर पु¥याएको छ । पार्टी हेडक्वार्टरको प्रत्यक्ष निर्देशनमा उम्मेदवार छनोट गर्नु, असन्तुष्टिका आवाजलाई बेवास्ता गर्नु र आन्तरिक निर्णय प्रक्रियालाई वेवास्ता गर्नु संगठनको एकताका लागि विनाशकारी साबित भएको छ ।
महासंघको इतिहासमा प्रेस सेण्टरको यति कमजोर भूमिका यसअघि थिएन । यो भन्दा निकै कमजोर अवस्थामा अघिल्लो पटकको निर्वाचनमा केन्द्रको महासचिवमा रोशन पुरीसहित प्रभावशाली दोस्रो भूमिकामा महासंघमा पुगिएको अवस्था थियो । प्रदेश र जिल्लामा समेत बलियो दोस्रो अवस्था थियो । केन्द्रमा रोशन पुरी, रामकृष्ण अधिकारीसहित बागमतीमा कृष्ण सारु, उपत्यकामा टेनिस रोका, कर्णालीमा दीपेन्द्र शर्मा, पूर्व केन्द्रीय सदस्य देवकुमार यादव, अनिल मिश्र, किरण कर्णजस्ता नेताहरूले संगठनलाई बलियो बनाउन गरेका योगदान स्मरणीय छन् ।
गोविन्द आचार्य केन्द्रको उपाध्यक्ष र अध्यक्ष, ओम शर्मा महासचिव बन्दाको अवस्था के थियो, धेरै क्रियाशील पत्रकारहरुलाई स्पष्ट जानकारी छ । तर, अहिलेको नेतृत्वको कमजोरीले प्रेस सेण्टरको गौरवशाली इतिहासलाई केवल सम्झनामा सीमित गराउने खतरा पैदा गराएको छ । निर्णय प्रक्रियामा पारदर्शिताको अभाव र नेतृत्व चयनमा हस्तक्षेप मुख्य समस्याका रूपमा देखा परेका छन् । बालुवाटार, खुमल्टारमा उम्मेदवारी तय गर्ने प्रवृत्तिले सक्रिय पत्रकारहरूबीच विश्वास र सहकार्यको वातावरण खल्बलिएको थियो । यदि संगठनभित्र छलफल र पारदर्शी निर्णय प्रक्रियालाई प्राथमिकता दिइएको भए यो अवस्था टार्न सकिन्थ्यो । गम्भीर बनेर छलफल गरेको भए जन्मदेव जैसी, योगेश खपाङ्गी, टीकाराम प्रधान, फडिन्द्र फुयालसहित हामीहरु नउठ्न सक्थ्यौं ।
नेतृत्वको चौतर्फी घेराबन्दी, सिण्डिकेटलाई चिर्दै हामीले पाएको मतलाई हेर्ने हो भने हामी दावी गर्नै नहुने अवस्थामा थियौं र ? नेतृत्वले पूरै उपेक्षा गर्ने अवस्था हो र ? अध्यक्ष पद छाडेर महासचिवमा प्राथमिकताका साथ ल्याएको पात्रले भन्दा जन्मदेव जैसीले पाएको मतको स्थिति के हो ? जन्मदेवलाई आधिकारिक उम्मेदवार बनाएको भए परिणाम नै अर्काे हुँदैन थियो ?
काठमाडौं उपत्यका प्रदेश र बागमती प्रदेशका महासंघमा जितेका जिल्ला सदस्यसम्म अध्यक्ष प्रचण्डकोमा खुमल्टारमा टीका र खादा लगाएपछि समीक्षा गर्ने बाटो बन्द गरिएको होला । क्रियाशील श्रमजीवी सचेत पत्रकारहरुले त यस्ता कुरालाई बुझेकै छन् । प्रेस सेण्टरको संस्थापक मूल्य र गौरवलाई पुनःस्थापित गर्ने चुनौती आज सबैभन्दा ठूलो हो । संगठनभित्र स्वायत्तता, पारदर्शिता र सामूहिक निर्णय प्रक्रियाको पुनःस्थापना गर्न ठोस कदम चाल्न आवश्यक छ । निकट भविष्यमा हुने प्रेस सेण्टरको महाधिवेशन भविष्य निर्माणका लागि महत्वपूर्ण अवसर हो । इतिहासको सम्मान गर्दै क्रान्तिकारी पत्रकारिताका एजेन्डालाई सशक्त बनाउन सबैले पहल बढाउनु पर्छ ।
अबको प्राथमिकता भनेको संगठनलाई इतिहासको गर्वपूर्ण अध्यायमा सीमित हुनबाट जोगाउँदै यसको प्रभाव र योगदानलाई दीर्घकालीन बनाउनु हो । यदि नेतृत्वले सुधार र स्वायत्तताको दिशा लिन सकेन भने प्रेस सेण्टर केवल एक ऐतिहासिक नाममा सीमित हुने जोखिममा हुनेछ । सबैलाई चेतना भया । । (-लेखको भनाई जस्ताको तेस्तै )
Add Comment