काठमाडौँ । न्युरोड जाने सवारी धनीहरुका लागि काठमाडौँ महानगरपालिकाले २ हजार २ सय वटा २ पाङ्ग्रे र ७ सय वटा ४ पाङ्ग्रे सवारी साधन पार्किङ गर्ने स्थान निःशुल्क उपलब्ध गराएको छ । यो संख्या साविक न्यूरोडको कालोपत्रे सडकमा गरिने सवारी पार्किङ्को संख्याभन्दा धेरै हो ।
अहिले धरहराको पार्किङ भवनमा उपलब्ध गराएको स्थानमा मात्र पनि १ हजार ५ सय २ पाङ्ग्रे सवारी साधन अट्न सक्छन् । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डे भन्नुहुन्छ, ‘यससँगै काठमाडौँ टावर (साविक पुरानो बसपार्क) मा ७ सय वटा २ पाङ्ग्रे र ३ सय वटा ४ पाङ्ग्रे सवारी साधन पार्किङ गर्ने स्थान उपलब्ध गराइएको छ । यो निःशुल्क पार्किङ् सेवा हो । यसबाहेक नयाँ सडकमा पार्किङ प्रयोजन देखाएर निर्माण भएका धेरै व्यापारिक भवनहरु छन् । ताम्राकार कम्प्लेक्स, आरबी कम्प्लेक्स, रञ्जना कम्प्लेक्स, पशुपति प्लाजा, विशाल बजारलगायत भवनको भूमिगत तलामा पार्किङ गर्न सकिन्छ ।’ पाण्डेका अनुसार आज धरहराको पार्किङ् भवनमा करिब ९ सय जना सवारी चालकले निःशुल्क पार्किङको सेवा लिए ।
महानगरपालिकाका सडक सुरक्षा विज्ञ प्रशान्त खरेल अनुसार न्युरोडको कालोपत्रे सडकमा १ हजार ३ सय वटा २ पाङ्ग्रे र ३० वटा ४ पाङ्ग्रे सवारी साधन पार्किङ् गर्न सकिन्थ्यो । जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको कालोपत्रे सडकमा ३ सयवटा २ पाङ्ग्रे र ५ वटा ४ पाङ्ग्रेक, प्युखामा १५० वटा २ पाङ्ग्रे र ६ वटा ४ पाङ्ग्रे, खिचापोखरीमा १५० वटा २ पाङ्ग्रे र १५ वटा ४ पाङ्ग्रे, वीर अस्पताल महावौद्धमा १५० वटा २ पाङ्ग्रे सवारी पार्किङ् गर्ने क्षमता थियो । त्यसैअनुरुप पार्किङ हुने गरेको थियो ।
महानगरपालिकाले अहिले उपलब्ध गराएको स्थानमा मात्र पार्किङ गर्दा पनि नयाँ सडकको कालोपत्रे सडकलाई सहज आवागमनका लागि प्रयोग गर्न सकिन्छ । सडक किनारामा पैदल यात्रीले सहजतापूर्वक हिँड्न पाउँछन् । खरेलको भनाइ छ । कालोपत्रे सडकलाई सवारी आवागमनका लागि मात्र प्रयोगमा ल्याउन महानगरपालिकाले यस्ता ठाउँलाई पार्किङ निषेध गरिरहेको छ । यस क्रममा माघ ९ गतेदेखि न्युरोड क्षेत्रको कालोपत्रे सडकमा पार्किङ निषेध गरिएको हो । यस्तै बागबजार, पुतलीसडक, दरबारमार्ग, झोँछेलगायत धेरै ठाउँमा पार्किङ्ग निषेध गरिसकिएको छ ।
Add Comment