विविध

‘नदी सफाइ’ स्वर्णिम योजना  : नदी क्षेत्रबाट २ हजार २४८ मेट्रिक टन फोहोर संकलन,  ७ हजार ६९४ जना जनशक्ति परिचालन

काठमाडौँ । ‘नदी सफाइ’ स्वर्णिम योजनाअन्तर्गत काठमाडौँ महानगरपालिकाले गएको ५ महिना (कार्तिक, मंसिर, पुस, माघ र फागुन) मा नदी किनार र जलवहाव क्षेत्रबाट २ हजार २४८ मेट्रिक टन फोहोर निकालेको छ । यसका लागि ७ हजार ६९४ जना जनशक्ति परिचालन गरिएको छ । सहरी स्वच्छता र सफाइका लागि महानगरपालिकाले लिएको नीति कार्यान्वयन गर्ने क्रममा मानवीय स्रोतको प्रयोग गर्नु पर्ने ठाउँमा जनशक्ति परिचालन गरिएको हो । वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार, आवश्यकताका आधारमा एक्साभेटरसहित उपकरण प्रयोग गरिएको थियो ।

महिनागत रुपमा हेर्दा कार्तिकदेखि फागुनसम्म क्रमशः १ हजार ४ सय, ३ हजार ७३१, १ हजार १२६, ७२५ र ७१२ जना जनशक्ति परिचालन भएका छन् । यी जनशक्ति श्रम बैङ्कबाट लिइएका हुन् । योजनाका फोकल पर्सन एवं महानगरपालिकाका उपनिर्देशक सानुमैया महर्जनका अनुसार यी महिनाहरुमा क्रमशः ८४६, ८४६, २७१, १४४, १७१ र १४१ मेट्रिक टन फोहोर निकालेर व्यवस्थापन गरिएको छ ।

योजना कार्यान्वयन गर्ने क्रममा असोज ३० गतेदेखि नदी किनाराको सरसफाइ थालिएको हो । फागुन २० गतेदेखि नदीभित्र प्रवेश गरेर फोहोर निकाल्न थालिएको हो । गएको मंसिर १ गतेदेखि सहरी सरसफाइका लागि थप गरिएका ३ सय जना जनशक्तिले पनि काम गरिरहेका छन् । उनीहरुलाई नदी किनारा, सडक, पार्क र सार्वजनिक स्थलको सफाइमा खटाउने गरिएको छ ।
सफाइका क्रममा सबैभन्दा धेरै पाइने फोहोर प्लाष्टिक रहेको छ । यसपछि कपडा छन् । घाट क्षेत्रमा काठ, दाउरा, कोइला, कपडादेखि अन्य विभिन्न प्रकारका फोहोर भेटिने गरेको छ ।

रुद्रमती नदी (धोवीखोला) सफाइ सुरु
आज रुद्रमती र वागमती नदी दोभानबाट रुद्रमतीको शिरतर्फ सफाइ सुरु भएको छ । श्रम बैङ्कबाट लिइएका ५५ जना जनशक्तिलाई ४ समूह बनाएर नदीभित्रको सफाइ थालिएको हो । सफाइ गर्ने कार्यक्रम सञ्चालन भएसँगै नदीमा फोहोर नफाल्न आसपास क्षेत्रमा प्रचारात्मक कार्यक्रम पनि गर्नु पर्ने अवस्था छ । सफाइमा सहभागी ुभएका वडा नं. ११ का अध्यक्ष एवं महानगरपालिकाको भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकार भन्छन्, ‘नबुझेर फोहोर फाल्नेको संख्या कम छ । बुझेर फोहोर फाल्नेमाथि बिशेष निगरानी रहनेछ ।’
सहरी स्वच्छताका लागि मानवीय आचरण सुधारको काम अवको प्राथमिकतामा पर्नु पर्छ । वडा नं. १० का सदस्य सतिश तण्डुकार भन्छन्, ‘सफाइमा प्राप्त गरेको उपलब्धी जोगाउन प्रयत्न चाहिएको छ ।’

सरसफाइका लागि महानगरपालिकाले थालेका विभिन्न तहका कार्यक्रमहरुको संयोजनबाट अनुकरणीय नतिजा देखिन थालेका छन् । सहरी योजना आयोगका सदस्य सरस्वती मानन्धर भन्नुहुन्छ, ‘स्रोतमा फोहोर वर्गीकरण गर्ने अभियान सफल बन्दै गएको छ । यसबाट नदी सफाइमा पनि सहयोग पुग्नेछ ।’ सफाइ हरेक दिन विहान ७ बजेदेखि अपरान्ह २ बजेसम्म हुनेछ ।

काठमाडौँका नदी
काठमाडौँमा मुख्य ९ वटा नदी छन् । यीमध्ये बागमती नदीको पहिलेदेखि सफाइ भइरहेकोले महानगरपालिकाले यो नदी सफाइ गर्ने योजना बनाएको छैन । यसबाहेकका ८ वटा नदीको सफाइलाई नियमित सञ्चालन गरिनेछ । यी ८ वटा नदीहरु, विष्णुमती, रुद्रमती (धोवीखोला), मनोहरा, इच्छुमती (टुकुचा), बल्खु खोला, सामाखुशी, कर्खुशी (वाफल) र भचाखुशी (स्वयम्भू, शोभाभगवती) हुन्