विविध

महानगरद्वारा सफाइ सम्बन्धित बर्खे जोखिम घटाउन ठमेलबाट विशेष सरसफाइ सुरु

काठमाडौँ । बर्खा याममा फोहोरका कारण सिर्जना हुन सक्ने जोखिम घटाउन काठमाडौँ महानगरपालिकाले ‘विशेष सरसफाइ’ बाट पूर्व तयारी थालेको प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बताएका छन् । आज वडा नं. २६ को ठमेल क्षेत्रमा गरिएको विशेष सरसफाइका क्रममा उनले यस्तो बताएको हो । सफाइका क्रममा धुलो टिप्न र पानी छर्कन व्रुमरको प्रयोग गरिएको थियो । सडक पखाल्न जेट मेसिनको प्रयोग गरिएको थियो । यस्तै सहभागीहरुले धुलो बढार्ने, पैदल यात्रुले फालेका बस्तु टिप्ने, सतह ढल सफा गरेर माटो निकाल्नेलगायत क्रियाकलाप गरेका थिए ।

वडा कार्यालय, वातावरण व्यवस्थापन विभाग, महानगर प्रहरी बल, नेपाल प्रहरी, टोल विकास संस्था, क्लव तथा संघसंस्था र स्थानीय सहभागिता सञ्चालन हुने सरसफाइबाट डुबान घटाउन, डेङ्गेलगायत संक्रमण घटाउन मद्दत हुनेछ । उनले भने, ‘हामीले सम्भावित जोखिमको पूर्वानुमान गरेका छौँ । यो जोखिमप्रति सर्वसाधारण सबैलाई सचेत गराउनु पर्छ । यो दायित्व पूरा गर्न सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेका छौँ । यो कार्यक्रमलाई अपनत्व ग्रहण गरेर साझेदार र सर्वसाधारणको स्वतःस्फूर्त सहभागिताको अपेक्षा गरेका छौँ ।’

वडा २६ का अध्यक्ष एवं सुशासन समितिका संयोजक ख्यामराज तिवारीले, नियमितसँगै विशेष सरसफाइका कार्यक्रम चलाएर वडा क्षेत्रलाई सुन्दर बनाउन काम गरिने बताए । ‘यो ठमेललगायतका पर्यटकीय स्थल, गोङ्गवु आवास क्षेत्रजस्ता आवासीय क्षेत्र, नयाँ बसपार्क जस्ता वाह्य सम्पर्कको पहिलो स्थान भएको वडा हो । वडा क्षेत्रलाई सुन्दर बनाउन नियमित कार्यक्रमसँगै नागरिक सहभागिता चाहिएको छ । यसको संयोजनका लागि काम गरिरहेका छौँ ।’

ठमेल पर्यटन विकास परिषदका अध्यक्ष भवी शर्माका अनुसार सञ्चय कोषबाट सुरु भएको सरसफाइ र सचेतनामूलक कार्यक्रम ज्याठा, क्वाबहाल, क्षेत्रपाटी, चाक्सीबारी, पर्यटन मार्ग, सातघुम्ती, भगवती मार्ग हुँदै सुरु भएकै विन्दूमा आएर समापन भएको हो । साइड ड्रेनमा भएको करिब ४ रिक्सा माटो निकालिएको थियो । यसप्रकारका सफाइ कार्यक्रममा सहभागी हुनुलाई नागरिकले दायित्व मान्नु सफाइमा सम्लग्न अधिकारीहरुले प्रतिक्रिया दिएका थिए ।