अर्थ

शिविरबाट शिफारिस भएका महिलाहरुको सिभिल अस्पतालमा क्यान्सर परीक्षण हुने : काठमाडौँ महानगरपालिका

काठमाडौँ । काठमाडौँ महानगरपालिका र निजामती कर्मचारी अस्पतालबिच जनप्रतिनिधि, कर्मचारी, ज्येष्ठ नागरिक र महानगरवासीलाई स्वास्थ्य सेवा प्रदान गर्नका समझदारी पत्रमा हस्ताक्षर भएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रा. डा. विधाननिधि पौडेलबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारीमा सञ्चालन हुने कार्यक्रम स्वास्थ्य र सामाजिक विकास विभागअन्तर्गतका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत परियारकाअनुसार सार्वजनिक–सार्वजनिक साझेदारीको अवधारणा अनुरूप आपसी समन्वय र सहकार्यका माध्यमबाट महानगरवासीलाई स्वास्थ्य परीक्षण सेवा तथा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराएर नेपालको संविधानले प्रत्याभूत गरेको स्वास्थ्य सम्बन्धी हक उपलब्ध गराउने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । समझदारी पत्रअनुसारका कार्यक्रम चालु आर्थिक बर्षको असार मसान्तभित्र सम्पन्न हुनेछन् ।

समझदादारी बमोजिम पहिलो पक्षले सिफारिश गरेका ७५ बर्ष उमेर समूहमाथिका ज्येष्ठ नागरिक, महिलाको स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, जनप्रतिनिधि कर्मचारीको पूर्ण स्वास्थ्य जाँच परीक्षणसहितका काममा सहकार्य हुनेछ ।

ज्येष्ठ नागरिक उपचारका लागि अस्पतालमा छुट्टै परीक्षण कक्ष स्थापना गरेर इसीजी, ब्लड सुगर, सीबीसी, एक्स रेसहित १० प्रकारका प्रयोगशाला परीक्षण हुनेछ । महिलाहरूमा देखा पर्न सक्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर पहिचानका लागि महानगरपालिकाले प्रजनन उमेरका महिलाहरुका लागि सञ्चालन गर्ने शिविरबाट पठाइएका महिलाहरुको एचपीभी डीएनए परीक्षण, बायोप्सी, लिप परीक्षण (लुप इलेक्ट्रो सर्जिकल एक्सिसन प्रोसिड्युर) र मेमोग्राम परीक्षण हुनेछ । यस्तै परिचय पत्र वा शिफारिसका आधारमा कर्मचारी र जनप्रतिनिधिका लागि विहान ७ बजेदेखि बजेदेखि साढे ८ बजेसम्म पूर्ण शारीरिक परीक्षण सेवा उपलब्ध हुनेछ । यसमा युएसजी, इसीजी, युरिन, युरिक एसिड, ब्लड सुगर, लिपिड प्रोफाइलसहित विभिन्न १६ प्रकारका प्रयोगशाला परीक्षण हुनेछ ।

समझदारी पत्रमा हस्ताक्षर गरिसकेपछि अस्पतालका प्रमुख कार्यकारी निर्देशक पौडेलले, सम्भावित महामारी तथा आकस्मिक रूपमा देखा पर्न सक्ने रोगहरूको न्यूनीकरण, रोकथाम र उपचार, स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा सहजीकरण, स्वास्थ्य प्रणालीमा सुधार, स्रोत साधन तथा उपकरणको व्यवस्थापन, भौतिक संरचना निर्माण तथा मर्मत सम्भार, पार्किङ व्यवस्थापन लगायत संस्थागत क्षमता अभिवृद्धि र अस्पतालजन्य फोहरमैलाको व्यवस्थापनमा समन्वय र सहजीकरणका लागि आपसी काम हुने बताए ।

महानगरपालिकाका स्वास्थ्य प्रवर्धन केन्द्रहरुबाट पठाइएका विरामीहरुको छुट्टै कक्षबाट उपचार गरिनेछ । महानगरपालिकाका स्वास्थ्य प्रवर्धन केन्द्रबाट गरिएका जाँच तथा स्वास्थ्य परीक्षण प्रतिवेदनलाई अस्पतालले मान्यता दिनेछ । यसअन्तर्गत हुने कार्यक्रमलाई महानगरपालिकाको स्वास्थ्य विभाग र अस्पताल प्रशासन शाखाले गर्नेछ ।

अस्पताल निर्माण अवधिमा गरिएका प्रतिवद्धता अब कार्यान्वयन गराउँदै लैजानु पर्छ । आँगनमा भएको अस्पतालसँग वडा ३१ बासीले गरेका अपेक्षा पूरा गराउन सहकार्य गर्नु पर्नेछ । समझदारी पत्रमा हस्ताक्षर भइसकेपछि वडा ३१ का अध्यक्ष सरोज ढकालले धारणा राखेका थिए ।