विविध

नयाँ बर्ष मनाउन ‘सम्युवा’ नगर स्वयमसेवक नागपोखरीको सफाइमा

काठमाडौँ । नयाँ बर्षको पहिलो दिन ‘सम्युवा’ नगर स्वयमसेवकहरुले वडा नं. १ मा रहेको नागपोखरीको सरसफाइ गरेका छन् । सफाइका लागि भेला भएका स्वयमसेवकहरु भेला भएपछि ‘प्रकृति र संस्कृति’को अन्तरसम्बन्धको बारे विचार विमर्श गरे । त्यसपछि सरसफाइ गर्न थालेका थिए ।

स्वयमसेवकहरुलाई ४ दिनको तालिम दिइसकिएको छ । अब हरेक शनिबार सम्पदा डबली कार्यक्रम अन्तर्गत स्थानीय समुदाय र विभिन्न संघसंस्थाहरुसँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गरिनेछ । पर्यटन महाशाखा प्रमुख श्रृजु प्रधानले पहिलो शनिवारको कार्यक्रममा ५० जना सहभागी भएर सरसफाइ गरेको जानकारी दिए ।

सरसफाइका क्रममा फोहोरलाई जैविक र अजैविक गरी २ भागमा छुट््याएर संकलन गरेका थिए । प्राप्त फोहोरमा सबैभन्दा कुहिने फोहोर (रुखका पात, भक्तले उत्पादन गरेका प्रसाद, फूल) थियो । त्यसपछि कागज (कार्टुन वक्स, सामान पोको पारेर ल्याएका पत्रिकाहरु), प्लाष्टिकजन्य फोहोर (पोलिथिन झोला, दूधका प्याकेट, मिनरल वाटरका बोटल, काम नलाग्ने झिलझिले प्लाष्टिक), धातु (क्यानका बोतलहरु), कपडाहरु थिए । यस्तै पान परागका खोलहरु थुपै्र भेटियो । यसरी संकलन गरिएको फोहोरको मात्रा करिब पाँच सय किलोग्राम थियो । हेर्दा सामान्य लागे पनि यो कार्यक्रमको प्रभाव ठूलो छ । कार्यक्रमका बारेमा वातावरणविद् भूषण तुलाधरले, यस्ता सामुहिक कामले युवाहरुमा प्रकृति र संस्कृतिबिचको अन्तरसम्बन्ध र सहअस्तित्वका बारेमा गहिरो चाख बढ्ने बताउँदै यसबाट दिगो वातावरणीय सुधारका लागि सहयोग हुने धारणा राखे ।

सरसफाइमा जनप्रतिनिधि, कर्मचारी, नक्साल बक्सिङ क्लबका पदाधिकारी, पुरातत्व विभागका प्रतिनिधि, छिमेकी वडा नं ५ का वडा सदस्यसहित जीवन्त हाँडीगाउँ अभियानका अभियन्तासहित सहभागी भएका थिए ।

स्वयमसेवकहरुले एक हप्ताभित्र पाहाँचह्रे जात्रा र बत्सलेश्वरी जात्राको अभिलेखनका लागि तथ्याङ्क संकलन गरेका छन् । यसपछि हाँडीगाउँमा गहना खोज्ने जात्रा र सेतो मछिन्द्रनाथको जात्राको तयारीमा लागेका छन् । प्रधानका अनुसार जात्रापछि विद्यार्थीहरुलाई सम्पदा र संस्कृतिको बारेमा जानकारी दिन विद्यालयहरुमा खटाइनेछ ।