विविध

विश्व सम्पदा दिवस २०२४ : प्राकृतिक तथा मानव निर्मित सम्पदा संरक्षण र प्रवर्धन गरे मात्र सभ्यता जोगिने

काठमाडौँ । प्राकृतिक र मानव निर्मित मूर्त अमूर्त सम्पदा बचाउन सके मात्र मानव सभ्यता बच्न सक्ने बताउँदै जनप्रतिनिधि, कर्मचारी, सस्कृतिकर्मी तथा स्थानीयले साझा मत व्यक्त गरेका छन् । विश्व सम्पदा दिवस २०२४ को अवसरमा आज आयोजना गरिएका कार्यक्रमहरुमा यस्ता मत व्यक्त भएका हुन् । यो वर्ष ‘डिजास्टर एण्ड कन्फिन्ट थ्रु द लेन्थ अफ द भेनिस चार्टर’ नारासहित दिवसका कार्यक्रम आयोजना गरिएका छन् । यो चार्टर सन् १९६४ मा सम्पदा संरक्षण र व्यवस्थापनमा काम गर्ने विज्ञ र पेशाकर्मीहरुले जारी गरेका थिए । त्यस यताका सम्पदाले भोगेका विपत्ति, त्यसले पारेको असर र यसबाट सिक्नु पर्ने पाठलाई विश्लेषण गर्न नाराले झक्झक्याएको छ ।

दिवसको सन्दर्भ र महानगरपालिकाले गरेका कामका बारेमा धारणा राख्दै सम्पदा पर्यटन समितिका संयोजक आशामान संगत भन्छन, ‘मूर्त अमूर्त सम्पदा र आपसी सम्बन्धको अभिलेखन गर्ने, हराएका र नासिएका संरचनासहित रीतिथिति र संस्कृति खोजेर पुनरुत्थान गर्ने कामलाई प्राथमिकता दिएका छौँ ।’ यसरी जोगाइएका सम्पदालाई अभिलेखन र पुस्तान्तरण गर्ने योजनाका साथमा काम भइरहेको संगतको भनाइ छ ।
दिवसको अवसर पारेर महानगरपालिकाका वडाहरुले विविध कार्यक्रम आयोजना गरेका छन् । यस क्रममा विश्व सम्पदा क्षेत्र भएका वडाहरुमध्ये वडा नं. १५ ले स्वयम्भू भुइँखेलमा वृहत योग र स्वयम्भूदेखि वसन्तपुरसम्मको सम्पदा पदयात्रा आयोजना ग¥यो । विहान साढे ४ बजे भेला भएर ६ बजेसम्म सामुहिक योग गरिएको थियो भने त्यसपछि सम्पदा पदयात्रा गरिएको थियो ।

भुइँखेलबाट सुरु भएको पदयात्रा चारा हिटी, धिमे ल्वहं, निपु हिटी (भीमसेन मन्दिर), डल्लु चौतारा, भेलु महादेव, रञ्जित मल्ल सतः घाट, तप्यँताँ, म्येछ्यों हिटी, बुरांखेल, सामुदायिक (लोकेश्वर) गल्ली, आयुर्वेदिक अस्पताल, नरदेवी द्यःछेँ, पाछै गल्ली, सुन्ता गल्ली, दमाइ टोल, चस्वांद्वँ, साः (तेल मिल), बन्जाः हिटि, मिच्याः गल्ली, मरुबहि, सन्तानेश्वर महादेव, मरु हिटि हुँदै मरु गणेश पुगेर समापन भएको थियो ।
स्वस्थ्य जीवनका लागि योग र सम्पदाको पहिचान प्रवर्धनका लागि पदयात्रा गरिएको वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले जानकारी दिए । २२ सय मिटरका दुरीमा भएका २ वटा सम्पदा क्षेत्रका बिचमा दर्जनौँ भौतिक सम्पदा छन् । ती हरेक सम्पदासँग अभौतिक क्रियाकलाप हुने गरेका छन् । स्थानीयबासीलाई यी सम्पदाको सम्बन्ध बुझाउन पदयात्रा गरिएको हो । डंगोलले स्पष्ट पारे ।

सम्पदा तथा पर्यटन विभागले लिपि गुथिसँगको सहकार्यमा वसन्तपुरमा क्यालिजात्रा आयोजना गर्दैछ । जात्रामा रञ्जना लिपि लेखन कला प्रदर्शन हुनेछ । नेपाल मण्डल (काठमाडौँ) को सभ्यता र पहिचानको प्रतीक रञ्जना लिपिको संरक्षण गर्न र पर्यटन प्रवर्धनमा सहयोग हुने अपेक्षा राखेर जात्रा आयोजना गरिएको सम्पदा तथा पर्यटन महाशाखा प्रमुख श्रृजु प्रधानले जानकारी दिए ।

विश्वभरि हरेक दिन मानिसहरु कुनै न कुनै संस्कार र संस्कृति मनाइरहेका हुन्छन् । हरेक ठाउँका प्रत्येक मानिससँग सम्बन्ध राख्ने संस्कृतिलाई साझा रुपमा मनाउन हरेक बर्ष अंग्रेजी महिनाको अप्रिल १८ तारिख इन्टरनेशनल डे फर मोनुमेन्ट्स एण्ड साइट्स अर्थात् बिश्व सम्पदा दिवसका रुपमा मनाउने गरिन्छ । इन्टरनेशनल काउन्सिल अन मोनुमेन्ट्स एण्ड साइट्स (स्मारक क्षेत्रहरुको अन्तरराष्ट्रिय परिषद) ले दिवस मनाउन सुरु गरेको हो । यो सन् १९६५ मा स्थापना भएको हो ।

प्राकृतिक तथा मानव सृजित सम्पदाको महत्वलाई प्रवर्धन गर्नु, पुस्तान्तरण गर्नु तथा संरक्षणका उपाय र सिकाइ आदान प्रदान गर्नु दिवस मनाउनुको मुख्य उद्देश्य हो । यस्ता सम्पदाको समाजसँग अन्तरनिहित नाता हुनाले संरक्षण र प्रवर्धनको खाँचो छ भन्ने सन्देश दिनु पनि दिवसको लक्ष्य हो । यस बर्षको दिवस ‘डिस्कभर एण्ड एक्सिरियन्स डाइभर्सिटी’ ‘विविधता पत्ता लगाएर अनुभव गर्नुहोस् (औपचारिक अनुवाद प्राप्त नभएको)’ नारामा आधारित क्रियाकलाप सञ्चालन भइरहेका छन् ।