अर्थ

१ महिनामा २०८१ जनालाई निःशुल्क ‘सिपमूलक तालिम’ तालिम प्राप्त गर्ने सबैलाई ‘रोजगार’, ‘स्वरोजगार’ वा ‘ओजेटी’ निश्चित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोलि (२०८१ वैशाख १९) देखि टुँडिखेलमा ‘सिप मेला’ आयोजना गर्दैछ । ‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सिप नभएकाहरुको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य लक्ष्य हो । १ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासँग सम्बन्धित निःशुल्क तालिम उपलब्ध गराउनु कार्यक्रमका क्रियाकलाप हुन् । यसरी तालिम पाएका सबै व्यक्तिलाई रोजगार, स्वरोजगार वा ओजेटी (अन द जब टे«निङ्) सुनिश्चित गरिएको छ । तालिमको यो, सबैभन्दा महत्वपूर्ण पक्ष हो ।

रोजगारदाता (सरकारी, गैरसरकारी, निजी, उद्योग तथा वाणिज्य क्षेत्र, दातृ निकाय), शैक्षिक क्षेत्र (विद्यालय, विश्वविद्यालय र तालिम प्रदायक संघ संस्था), सामाजिक क्षेत्र सबै एकै ठाउँ भएर सञ्चालन हुने तालिम, नतिजाका लागि उत्कृष्ट सहकार्यको नमूना कार्यक्रम हो । बजारमा सिपयुक्त जनशक्तिको ठूलो माग र आपूर्तिका बिचमा ठूलो खाडल छ । एकातिर रोजगारदाताको सिपयुक्त जनशक्ति नपाएको र अर्कोतिर युवाहरुमा योग्यताअनुसारको रोजगार नपाएको गुनासो छ । रोजगार क्षेत्रमा देखिएको यो खाडल पुर्न रोजगारदाताको आवश्यकता र बजारले मागेको सिप हासिल गरेको जनशक्ति उत्पादन गर्न व्यववसायिक तालिमको आवश्यकता महसुस गरेर ‘सिप मेला’ कार्यक्रम आयोजना गरिएको हो । यसले सिप नभएर अनौपचारिक क्षेत्रको अर्थतन्त्रमा रहेको व्यक्तिलाई रोजगारी र उद्यमका अवसरबाट औपचारिक अर्थतन्त्रमा रुपान्तरण गराउनेछ । विगतमा गैरकानुनी रुपमा सडकमा व्यापार गरिरहेका सडक व्यापारीलाई सिपमूलक तालिममा सहभागी हुनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ । यसबाट उनिहरु औपचारिक अर्थतन्त्रमा प्रवेश गर्ने छन् ।

सिप विकासका लागि महानगरपालिकाले सञ्चालन गरेका अरु पनि तालिमका कार्यक्रम छन् । सामुदायिक विद्यालयको कक्षा ९ र १० मा ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रमअन्तर्गत छोटो अवधिको सिपमूलक तालिम सञ्चालन हुन्छ । महानगर गौरव योजनाअन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रममा ३४ भन्दा धेरै पेशाका सिपमूलक तालिम छन् । ‘साइबर सेक्युरिटी’ मा ४ हजार व्यक्ति तालिम प्रदान गरिँदैछ । नजानेकालाई सिप सिकाउने, सिपको आधारभूत तालिम लिएकालाई स्तरोन्नति गराएपछि बजारमा सिपयुक्त जनशक्ति उपलब्ध हुनेछन् । यी सबै कार्यक्रमबाट उत्पादन भएका जनशक्तिहरुलाई ‘सिप मेला’ मा रोजगारदाताहरुसँग सम्पर्क गराउनु मेला आयोजनाको अर्को उद्देश्य हो ।

व्यावसायिक सिपका विषयमा जागरण सिर्जना हुनेछ । समुदाय स्तरमा तालिम सञ्चालनको वातावरण निर्माण हुनेछ । रोजगारी र उद्यमशीलताका लागि युवाहरुमा क्षमता विकास हुनेछ । सिप मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएका छन् । क्षेत्रभित्र २९ प्रकारका पेशागत तालिम हुनेछन् । मागका आधारमा थप क्षेत्र र पेशा थप गर्ने योजना छ ।

सुरु गर्न लागिएका तालिममध्ये अटो मोवाइल्स एउटा क्षेत्र हो । यसभित्र अटो इलेक्ट्रिक, अटो एअर कन्डिसन, मोटरवाइक र स्कुटर रिपेयर (इभी), इलेक्ट्रिकल कार रिपेयर (इभी) विषय छन् । दोस्रो निर्माण क्षेत्र हो । यसमा सिकर्मी, टाइल एण्ड मार्वल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङ् तालिम हुनेछ । हस्पिटालिटी एण्ड म्यानेजमेन्ट विधा तेस्रो हो । यसमा वारिस्ता, फुड एण्ड कुक, वेकरी, वार टेन्डिङ् र वेटर÷वेट्रेस प्रशिक्षण हुनेछ । सूचना प्रविधि (इन्फरमेसन एण्ड टेक्नोलोजी) चौथो क्षेत्र हो । यसमा डिजिटल मार्केटिङ्, ग्राफिक्स डिजाइनिङ्, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ्, सीसीटिभी क्यामरा विषय राखिएका छन् ।

मेकानिकलमा वेल्डिङ् र रेफ्रिजेरेटर एण्ड एसी टेक्निसियनको तालिम हुनेछ । आर्ट एण्ड कल्चरमा आर्ट एण्ड स्कप्चरको प्रशिक्षण हुनेछ । यी क्रमशः पाँचौँ र छैटौँ क्षेत्र हुन् । सातौँ क्षेत्र गार्मेन्ट्स हो । यसमा टेलरिङ्ड्रे/स मेकर र फेसन डिजाइनिङ्को कक्षा हुनेछ । आठौँ क्षेत्र व्युटिसियन (सौन्दर्य कला) हो । यसमा नेल आर्ट, मेक अप आर्ट, आइलेस आर्ट, हेअर कट एण्ड स्टाइल, र सैलुन प्रशिक्षण हुनेछ ।

नवौँ क्षेत्र डिजाइनिङ् हो । यसमा साइन मेकिङ् प्रशिक्षण हुनेछ । दशौँ विधा पुरोहित हो । यसमा पुरोहित र ज्योतिष सम्बन्धी प्रशिक्षण हुनेछ । तालिमको अन्तिम दिन रोजगार मेला हुनेछ । यस दिन रोजगारदाताहरु स्टलमा रहनु हुनेछ । सम्बन्धित रोजगारदातासँग सम्बन्धित तालिम प्राप्त व्यक्तिहरु सम्पर्कमा गएर आफ्नो सिपका बारेमा बताउनु हुनेछ । यही ठाउँबाट धेरै बेरोजगारले रोजगार पाउन सक्नु हुनेछ । रोजगारदाताले सिपयुक्त जनशक्ति प्राप्त गर्नुहुनेछ ।