अर्थ-स्वास्थ्य

व्यवसायिक तालिम प्राप्त जनशक्तिबाट राष्ट्रिय अर्थ व्यवस्थामा सकारात्मक प्रभाव पर्ने सार्वजनिक मामिला प्रमुख वीकर्सनको भनाइ

काठमाडौँ, जेठ १६ । नेपालस्थित अमेरिकी दूताबासका सार्वजनिक मामिला प्रमुख गारेट वीकर्सनले, व्यवसायिक तालिमले राष्ट्रिय अर्थ व्यवस्थामा सकारात्मक प्रभाव पार्ने बताएका छन् । आज टुँडिखेलमा महानगरपालिकाले सञ्चालन गरिरहेको सिप मेलाको अवलोकनका क्रममा उनले यस्तो बताएको हो । व्यवसायिक तालिमको महत्वपूर्ण लाभ भनेको यसले रोजगार र स्वरोजगारसँग जोड्छ । उनले थप्दै भने, ‘तालिमको प्रयोगात्मक कक्षाले विद्यार्थीलाई सिक्न प्रोत्साहित बनाउँछ । यसबाट दक्ष जनशक्ति उत्पादनमा योगदान हुन्छ ।’

तालिमपछि रोजगार क्षेत्रसँगको सम्बन्ध, तालिममा महिलाहरुको सहभागिता र समावेशीकरण, नागरिक समाजसँगको सम्बन्धका विषयमा जानकारी लिएका थिए । त्यस क्रममा दूताबासका युवा तथा सांस्कृतिक कार्यक्रम विशेषज्ञ ध्रुवबहादुर शाह (पीएचडी) ले, तालिमबाट उत्पादन भएका जनशक्तिलाई रोजगारसँग जोड्ने कार्यक्रमका बारेमा चासो राखेका थिए ।

त्यस क्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले, आंशिक समयमा काम गर्ने परिपाटी विकास गर्न लागिएको बताए । त्यस क्रममा आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले, व्यवसायिक तालिमको परम्परागत पाठ््यक्रमलाई व्यवसायिक साझेदारहरुसँगको सहकार्यमा परिमार्जन गरेर व्यवहारिक र प्रयोगात्मक सिपलाई महत्व दिइएको बताए । तालिम सञ्चालन गर्दा पछाडि परेका वा पारिएका, अल्पसंख्यक, महिलासहितको सहभागितालाई सुनिश्चित गरिएको अन्तरराष्ट्रिय सम्बन्ध सल्लाहकार सन्तोष गिरीको भनाइ थियो । छलफलका क्रममा व्यवसायिक तालिमलाई लैङ्गिकमैत्री एवं सामाजिक समावेशीकरणका कोणबाट चर्चा गरिएको थियो ।