काठमाडौं, असोज १२ । काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयमा शुक्ररबारदेखि २५औँ अन्तर्राष्ट्रिय बहुजातीय साहित्य सम्मेलन सुरू भएको छ । काठमाडौँ विश्वविद्यालय र बहुजातीय साहित्य सम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘द सोसाइटी फर द स्टडी अफ द मल्टि इथ्निक लिटरेचर अफ द वर्ल्ड (MELOW) को संयुक्त आयोजनामा २०८१ असोज ११ गते शुक्ररबारदेखि सुरू भएको सम्मेलन १३ गते (सेप्टेम्बर २७ देखि २९, २०२४) सम्म तीन दिन चल्नेछ ।
विश्व साहित्यमा मानव र प्रकृतिबिचको सम्बन्धलाई शूक्ष्म विश्लेषण र समालोचना गर्ने उद्देश्यकासाथ विश्वभरका सांस्कृतिक साहित्य अनुसन्धाता, लेखक, प्राध्यापक, समीक्षक र विद्यार्थीहरू सदस्य रहने अन्तर्राष्ट्रिय संस्था मेलो (MELOW) सन् १९९७ मा स्थापना भएको विद्वत्–सञ्जाल हो । प्राध्यापक मञ्जु जाइड्का, जो आफै पनि प्रतिष्ठित शैक्षिक व्यक्तित्व र(MELOW) कीअध्यक्ष हुन । सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै उनले नेपालमा सम्मेलन भएकोप्रति खुसी व्यक्त गरिन । उनि भारतबाट विद्वानहरूको टोलीसहित नेपाल आएकि हुन ।
त्यसैगरी सम्मेलनको उद्घाटन कार्यक्रममा प्राध्यापक बिजय केसी, प्राध्यापक मनप्रीत कौर, प्राध्यापक हेमराज काफ्ले, नारायण निरौला, प्राध्यापक कृष्णन उन्नी लगायतले धारणा राखेका थिए । त्यसैगरी सम्मेलनमा शनिबार मुख्य वक्ता (कि नोट स्पिकर)का रुपमा अम्मराज जोशी थिए ।
‘मेलो (MELOW) सम्मेलनमा साहित्य र प्राकृतिक परिवेशको सम्बन्धलाई प्रगाढ रुपले चित्रण गर्दै प्राकृतिक परिवेशको बुझाइले मानव जीवनमा के–कस्ता प्रभाव पार्छन् भन्नेलगायत छलफलका विषय समावेश गरिएको छ। यो अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलनमा करिब ८० राष्ट्रिय र एक सय २० अन्तर्राष्ट्रिय गरी जम्मा दुई सय सहभागीहरूको रहेको छ भने करिब एक सय २० वटा कार्यपत्रहरू प्रस्तुत हुनेछन् । सम्मेलनमा साहित्य र यसको प्रकृतिसँगको सम्बन्धमा केन्द्रित रहेर प्रा. कृष्णचन्द्र शर्मा, प्रा. आनन्द शर्मा, प्रा.रामचन्द्र पौडेल र प्राध्यापक जीवलाल सापकोटा लगायतको समूहको छलफल (Panel Discussion) विशेष आकर्षणका रूपमा रहेको छ ।
प्रस्तुत कार्यपत्रहरूले वातावरण, पहिचान, आध्यात्मिकता, काल्पनिकता, वन–बाटिका, वन्यजन्तु तथा प्राकृतिक दृश्य र सौन्दर्य जस्ता उप–शिर्षकहरूमा भएका अनुसन्धानहरूको चर्चा गर्दै साहित्यिक कृति र जनजातीय परम्पराहरूको विभिन्न पृष्ठभूमिलाई उजागर गर्नेछ । सम्मेलनमा पहाड र पर्वतारोहण, समतल क्षेत्र र सम्भावनाहरू, मरुभूमि, उजाडपन, रहस्य, जोखिम, नदी र तिनिहरूका प्रतिबिम्बहरू, महासागरहरू तथा नियात्रा जस्ता विषयहरू समेत समेटिएका छन् ।
सम्मेलनले साहित्य, संस्कृति लगायत परिस्थिति र परिवेशको सम्बन्धलाई नयाँ बौद्धिक दृष्टिकोणबाट हेर्दै मानव, संस्कृति र पर्यावरणको सम्बन्धको खोज र विश्लेषणमा नयाँ दिशा दिने विश्वास लिइएको छ । यसका अलावा मान्छेहरुको आधुनिक प्रविधिसँग बढिरहेको निकटताबीचको सम्बन्धर विश्वभर फैलिएको व्यवसायिकीकरणको बढ्दो प्रभावलाई समेत सम्मेलनले प्राथमिकता दिएको छ ।
त्यसैगरी यस्ता सम्बन्धहरूलाई नयाँ दृष्टिकोणबाट पुनः समीक्षा गर्न समेत यो सम्मेलनले उत्प्रेरित गर्नेछ। ‘मेलो (MELOW) अन्तर्राष्ट्रिय सम्मेलन’ले देश–विदेशमा रहनुहुने विद्वानहरूलाई छलफलमा समेटेर नयाँ प्रवृत्तिहरूबीच देखापर्ने बौद्धिक जिज्ञासा, अन्तरक्रिया र बहसको संस्कृति विकास गर्दै विद्यमान विचारधारा र साहित्यिक सिद्धान्तहरूको दायरालाई मजबुत बनाउने विश्वास लिइएको छ ।
Add Comment