Home » Sample Page » हिन्दु विरोधी भाषिक कट्टरताः उद्धव र राज ठाकरे परिवारको ढोंग, भारतको एकता माथिको प्रहार -योगेन्द्र प्रताप शाही
विचार-अन्तर्वार्ता

हिन्दु विरोधी भाषिक कट्टरताः उद्धव र राज ठाकरे परिवारको ढोंग, भारतको एकता माथिको प्रहार -योगेन्द्र प्रताप शाही

भारत एक धार्मिक, भाषिक र सांस्कृतिक विविधता भएको देश हो । हिन्दु धर्म स्वयं यस्तो विशाल दर्शन हो जसले सारा मानव जातिलाई “वसुधैव कुटुम्बकम“ (सारा संसार एउटा परिवार हो) भन्ने मूल मन्त्र दिन्छ । तर आज, केही राजनीतिक दल र परिवारहरूले यस हिन्दु एकतालाई भाषा र क्षेत्रको नाममा खण्डित गर्न खोजिरहेका छन् – जसको प्रमुख उदाहरण हालसालैको ठाकरे परिवारद्वारा महाराष्ट्रमा गरिएको व्यवहार हो ।

महाराष्ट्रमा ठाकरे परिवार सम्बन्धित राजनीतिक शक्ति केन्द्रले बारम्बार हिन्दी भाषी हिन्दुहरूमाथि भाषिक दवाब सिर्जना गर्ने कार्य गर्दै आएको छ । ’मराठी बोल, वरना यहाँ स्थान छैन’ भन्ने प्रकारका अभिव्यक्ति र धम्कीपूर्ण गतिविधिहरू केवल भाषिक असहिष्णुता मात्र होइन, हिन्दु धर्मको सहिष्णु परम्परा र एकतालाई पनि तोड्ने कार्य हो ।

हिन्दु धर्मले भाषा हेरेर धर्मको मापन गर्दैन । राम, कृष्ण, शिव, दुर्गा – यी सबै देवताहरु सम्पूर्ण भारतवर्षमा पूजित छन्, चाहे त्यो महाराष्ट्र होस्, उत्तर प्रदेश, बिहार, गुजरात, या तमिलनाडु। तिनीहरूको पूजा गर्नको लागि मराठी, हिन्दी, संस्कृत वा कुनै अन्य भाषा आवश्यक छैन – आवश्यक छ श्रद्धा, भक्ति र एकता ।

हिन्दु धर्मले कहिल्यै पनि भाषा वा जातिको आधारमा कोही हिन्दु हो या होइन भनेर छुट्याएको छैन । तर ठाकरे परिवार जस्ता केही स्वघोषित हिन्दुत्ववादीहरूले भाषा आधारमा भेदभाव गरेर वास्तवमा हिन्दुत्वको मूल भावनालाई अपमानित गरिरहेका छन् । हिन्दी भाषी हिन्दुहरूमाथि दवाब सिर्जना गर्नु, तिनीहरूलाई दोस्रो दर्जाको नागरिकझैं व्यवहार गर्नु, र सामाजिक विभाजन सिर्जना गर्नु महापाप मात्र होइन, राष्ट्रविरोधी कार्य पनि हो ।

ठाकरे परिवार र यस्ता सोच भएका व्यक्तिहरूले हिन्दुत्वलाई केवल राजनीतिक अस्त्र बनाएका छन् – जब चुनाव आउँछ, तब ‘जय श्रीराम’ चिच्याउँछन्, तर जब शासनमा आउँछन् तब हिन्दी भाषी हिन्दुहरूमाथि दमन गर्छन् । यस्ता दोगला चरित्र भएका नेताहरू हिन्दु समाजको नेतृत्व गर्न असमर्थ छन् ।

हामी सबै हिन्दुहरू, चाहे उनीहरूले हिन्दी बोलून, मराठी, बंगाली, तमिल, या कुनै पनि भाषा । भाषा केवल संप्रेषणको माध्यम हो, धर्म त भावना र आत्मज्ञानको कुरा हो । हिन्दुत्व सबै भाषाभाषीहरूको साझा आध्यात्मिक छाता हो – यसलाई भाषा र क्षेत्रको नाममा चिराचिरा पार्ने प्रयास गरिनु हुँदैन ।

हामी सबै हिन्दुहरूप्रति अपील गर्छौं – जुनसुकै भाषा बोल्ने होस्, एक अर्कालाई आत्मीयता र समानताको दृष्टिकोणले हेरौं । र जसले हिन्दुत्वको नाममा भाषिक द्वेष फैलाउने कार्य गर्छन्, तिनीहरूको मुखौटा खोसौं । ठाकरे परिवारजस्ता दोगला हिन्दुत्ववादीहरूलाई बेपर्दा गर्नैपर्छ – किनभने भाषा हिन्दुत्वको शत्रु होइन, विविधता हो ।