काठमाडौं । काठमाडौं उपत्यकामा तीव्र सहरीकरणसँगै मनोहरा खोला प्रायः प्रदूषण, अतिक्रमण र अव्यवस्थित विकासका कारण मात्र चर्चामा आउने गरेको छ। तर यही नदी प्रणालीले उपत्यकाको जैविक विविधता संरक्षणमा कति महत्त्वपूर्ण भूमिका खेलेको छ भन्ने तथ्य हालै अभिलेखित एक दुर्लभ आगन्तुक चराले पुनः उजागर गरेको छ। मनोहरा खोलाको सिमसार क्षेत्रमा गेरुमुहार चाँचर (Naumann’s Thrush) को अवलोकन हुनु नेपालको दोस्रो तथा काठमाडौं उपत्यकाको पहिलो आधिकारिक अभिलेख हो।
यो महत्वपूर्ण अभिलेख जैविक विविधता विज्ञ, सुजन श्रेष्ठ र वन्यजन्तु फोटोग्राफर, कृष्ण काजी प्रजापतिले मिति २०८२ पुस ३० गते दिउँसो, मनोहरा खोलाको आसपास सिमसार क्षेत्रबाट गरेका हुन्। उक्त स्थान काठमाडौं जिल्ला अन्तर्गत कागेश्वरी-मनोहरा नगरपालिकाको मुलपानी चौरबाट करिब ५०० मिटर दक्षिण-पूर्ब तर्फ अवस्थित छ। प्रायः मनोहरा खोलामा चराको फोटो खिच्दै आएका श्रेष्ठ र प्रजापतिलाई यसपटक देखिएको चरा असामान्य लागेको थियो। त्यसपछि ती चराको तस्बिरहरू बर्ड कन्जर्भेसन नेपाल (BCN) मा पेश गरिएका थिए । प्रारम्भिक रूपमा उक्त चरा Naumann’s Thrush भएको अनुमान गरिएको थियो जसलाई पछि बर्ड कन्जर्भेसन नेपालका चरा विज्ञ तथा कार्यकारी समितिका अध्यक्ष विमल थापा तथा त्रिभुवन विश्वविद्यालय का उप-प्राध्यापक र चरा बिशेसज्ञ डा कमल राज गोसाईले आधिकारिक रूपमा पुष्टि गर्नुभएको हो।
यस चराको वैज्ञानिक नाम Turdus naumanni रहेको यसअघि नेपालमा चराविद् शंकर तिवारीद्वारा मिति २०८१ कार्तिक २५ मा अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत मुस्ताङ जिल्लाबाट पहिलो पटक पुष्टि गरिएको थियो।
गेरुमुहार चाँचर ‘प्यासेरिफोर्मीस‘ (Passeriformes Order) र ‘टर्डि
काठमाडौं उपत्यकाका सिमसार तथा उर्वर भुमिहरू तीव्र रूपमा सङ्कुचित हुँदै गएका छन्। खोलानालामा बढ्दो प्रदूषण, फोहोर फाल्ने प्रवृत्ति, बालुवा उत्खनन, नदी किनार अतिक्रमण तथा अव्यवस्थित पूर्वाधार विकासले यस्ता संवेदनशील क्षेत्रहरू क्रमशः नष्ट हुँदै गएका छन्। मनोहरा खोलामा भएको गेरुमुहार चाँचरको यो अभिलेखले सहरी विकास र जैविक संरक्षणबीच सन्तुलन आवश्यक रहेको बहसलाई पुनः सतहमा ल्याएको छ। गेरुमुहार चाँचर, साइबेरियाली राजपुत्रिका तथा अन्य रैथाने र आगन्तुक चराहरूको उपस्थिति मनोहरा खोलाको मौन चेतावनी हो। यदि आज खोला र सिमसार संरक्षणलाई प्राथमिकता नदिने हो भने भोलिका दिनमा यस्ता दुर्लभ प्राणीहरू देख्न नपाइने खतरा बढ्दै जानेछ। त्यसैले यो अभिलेखलाई केवल चरा प्रेमीहरूको उपलब्धिका रूपमा मात्र होइन, सहरी प्रकृति संरक्षणप्रति सबैलाई सचेत गराउने महत्वपूर्ण सन्देशका रूपमा लिन आवश्यक छ।








Add Comment