काठमाडौं । नेपाल चिकित्सक सङ्घले बुधबार देशभरका अस्पताल, मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडका दोषीलाई कारबाही गर्न सरकार गम्भीर नदेखिएको भन्दै सङ्घले आन्दोलन थप कडा बनाउने निर्णय गरेको हो।
मंगलबार बसेको सङ्घको आकस्मिक बैठकले आकस्मिक सेवा भने यथावत सञ्चालन गर्दै अन्य सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ।
सङ्घका अनुसार बुधबार बिहान १० बजे काठमाडौं उपत्यकाका चिकित्सक तथा स्वास्थ्यकर्मी माइतीघर मण्डलामा विरोध प्रदर्शनमा उत्रिनेछन्। उपत्यका बाहिरका चिकित्सकहरूले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने तथा आफू कार्यरत स्वास्थ्य संस्थामै धर्ना दिने कार्यक्रम तय गरिएको छ।
यसअघि मंगलबार पनि सङ्घले देशभर ओपीडी सेवा बन्द गर्दै विरोध जनाएको थियो।








Add Comment