काठमाडौं । हिन्दु धर्मावलम्बीहरूले आज नाग पञ्चमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदै छन्। श्रावण शुक्ल पञ्चमीका दिन पर्ने यस पर्वमा नाग देवताको पूजा गर्ने तथा घरको मूल ढोकामा नागको चित्र टाँस्ने धार्मिक परम्परा रहेको छ।
नाग पञ्चमीका दिन बिहानै स्नान गरी दियो, कलश र गणेशको पूजा गरेपछि घरको ढोकामा नागको चित्र राखेर पूजा गर्ने चलन छ। नागको चित्रमा दही, दुबो, कुश, सिन्दूर, चन्दनलगायतका सामग्री चढाउने गरिन्छ। धार्मिक मान्यताअनुसार नागको पूजा गरेमा सर्प तथा अन्य विषालु जीवबाट हुने डर कम हुनुका साथै आगलागी, मेघ र चट्याङबाट समेत सुरक्षा मिल्ने विश्वास छ।
यस दिन अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागको विशेष पूजा गर्ने विधान रहेको छ। भक्तजनहरूले नाग स्तोत्र पाठ गर्दै नाग देवताको पूजा गर्ने गर्छन्।
ज्योतिषीय मान्यताअनुसार नाग पञ्चमीका दिन नागको शिर रहने दिशा पनि विशेष मानिन्छ। यस वर्ष नागको शिर पूर्व दिशामा रहेको मानिएकाले सोहीअनुसार पूजा गर्नुपर्ने उल्लेख गरिएको छ।
नाग पञ्चमीलाई कुण्डलीमा रहेको राहु–केतुसँग सम्बन्धित कालसर्प योग तथा नयाँ घर निर्माणका क्रममा हुने नाग दोषबाट मुक्ति पाउन पूजा गर्ने दिनका रूपमा समेत लिइन्छ।
यस अवसरमा काठमाडौंको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरी लगायत विभिन्न नागस्थान, कुण्ड तथा धार्मिकस्थलमा भक्तजनको भीड लाग्ने गर्दछ। कतिपय स्थानमा भक्तजनहरू व्रत बसेर नाग देवतालाई दूध, फूल, फलफूल तथा प्रसाद चढाएर पूजा गर्ने गर्छन्।
धार्मिक विश्वाससँगै सर्प तथा नागलाई प्रकृतिको महत्वपूर्ण जीवका रूपमा समेत लिइन्छ। सर्पले वातावरणमा रहेका विभिन्न जीव तथा विषालु पदार्थको प्राकृतिक सन्तुलन कायम राख्न भूमिका खेल्ने भएकाले नाग पूजाको परम्परालाई प्रकृतिसँग जोडेर पनि हेर्ने गरिन्छ।








Add Comment