कंगो । कंगोमा फैलिएको इबोला भाइरसको प्रकोपबाट संक्रमित हुनेको संख्या ५ हजार नाघेको छ। कंगोको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो तथ्यांकअनुसार हालसम्म ५ हजार २१ जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार ३७८ जनाको मृत्यु भइसकेको छ।
स्वास्थ्य मन्त्रालयले आइतबारसम्मको तथ्यांक सार्वजनिक गर्दै इबोलाको संक्रमण देशका दुर्गम क्षेत्रमा तीव्र गतिमा फैलिरहेको जनाएको छ। सुरक्षा चुनौती, विस्थापन र मानिसहरूको तीव्र आवतजावतका कारण संक्रमण नियन्त्रणमा कठिनाइ भइरहेको अधिकारीहरूको भनाइ छ।
विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार हालको प्रकोप यसअघिका इबोला प्रकोपको तुलनामा निकै तीव्र गतिमा फैलिरहेको छ। सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला प्रकोप अहिलेसम्मकै सबैभन्दा घातक मानिन्छ, जसमा ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो।
WHO का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेसुसले प्रकोप अझै नियन्त्रणमा नआएको बताएका छन्। उनका अनुसार संक्रमण तीव्र रूपमा फैलिरहेकाले कंगोभित्र तथा अन्तर्राष्ट्रिय रूपमा समेत थप फैलिने जोखिम उच्च रहेको छ।
स्वास्थ्यकर्मीसमेत जोखिममा
इबोला प्रकोपबाट सबैभन्दा बढी प्रभावित इटुरी प्रान्तमा स्वास्थ्यकर्मीहरूले समेत कठिन परिस्थितिको सामना गरिरहेका छन्। उपचार तथा नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना समेत भएका छन्।
इटुरीको राजधानी बुनीयामा कार्यरत एक स्वास्थ्यकर्मीका अनुसार लामो समयदेखि कामको चाप र कमजोर कार्य अवस्थाका कारण स्वास्थ्यकर्मीहरू थकित भएका छन्। तलब नपाएपछि केही स्वास्थ्यकर्मी हडतालमा समेत उत्रिएका छन्।
यसैबीच, अरु क्षेत्रमा शंकास्पद संक्रमणको सूचना पाएपछि पुगेको स्वास्थ्य टोलीमाथि स्थानीयले आक्रमण गरेका छन्। स्थानीय समूहले एउटा एम्बुलेन्समा आगजनी गर्नुका साथै अन्य दुई सवारीसाधनमा समेत क्षति पुर्याएको बताइएको छ।
स्वास्थ्यकर्मीहरूले समुदायमा इबोलाबारे पर्याप्त जानकारी पुर्याउनुपर्नेमा जोड दिएका छन्। स्थानीयलाई संक्रमणका लक्षण, बिरामी परेमा अपनाउनुपर्ने सावधानी तथा उपचारका लागि कहाँ जाने भन्ने विषयमा जानकारी दिनु आवश्यक रहेको उनीहरूको भनाइ छ।
उपचारको अभावले मृत्यु बढ्दो
हालको प्रकोपसँग सम्बन्धित Bundibugyo भाइरसका लागि स्वीकृत खोप वा उपचारको सीमितता समेत प्रमुख चुनौती बनेको छ। नयाँ संक्रमितमध्ये धेरै निगरानीमा रहेका व्यक्तिबाहिरबाट देखिन थालेकाले संक्रमण नियन्त्रण गर्न स्वास्थ्य टोलीलाई थप कठिनाइ भएको छ।
अधिकारीहरूका अनुसार संक्रमण फेब्रुअरीदेखि नै फैलिन थालेको हुनसक्ने अनुमान गरिएको छ। तर सरकारले मे १५ मा मात्र प्रकोप घोषणा गरेको थियो।
प्रभावित क्षेत्रमा विद्रोही समूहको खतरा, स्थानीय समुदायमा रहेको असन्तुष्टि, विस्थापन र खराब सडक पूर्वाधारका कारण स्वास्थ्य टोलीलाई प्रभावित क्षेत्रसम्म पुग्न कठिन भइरहेको छ।
हाल समग्रमा इबोलाबाट मृत्यु हुने दर करिब ४७.४ प्रतिशत रहेको छ। तर प्रभावित क्षेत्रअनुसार यो दर फरक छ। उत्तर किभु प्रान्तजस्ता चुनौतीपूर्ण क्षेत्रमा मृत्यु दर ७० प्रतिशतसम्म पुगेको तथ्यांकले देखाएको छ।
स्वास्थ्य अधिकारी तथा अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरूले संक्रमण थप फैलिन नदिन समुदायको सहभागिता, प्रभावकारी निगरानी र बिरामीलाई समयमै उपचार उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन्।
स्रोत : अन्तर्राष्ट्रिय समाचार एजेन्सी








Add Comment