धर्म-संस्कृति

पलाञ्चोक भगवतीको मूर्तिमा असामान्य दृश्य, पसिना देखिएपछि क्षमा पूजा

काभ्रे । पाँचखाल नगरपालिका–९ स्थित प्रसिद्ध पलाञ्चोक भगवती मन्दिरमा शनिबार साँझ अनौठो दृश्य देखिएको छ। नियमित आरती भइरहेका बेला भगवतीको मूर्तिमा पसिनाजस्तो देखिने ओसका थोपा देखिएपछि भक्तजन र स्थानीयको ध्यान आकर्षित भएको हो।

मन्दिर व्यवस्थापनसँग सम्बन्धित व्यक्तिहरूका अनुसार मूर्तिमा पसिना देखिनुलाई स्थानीय धार्मिक मान्यतामा विशेष संकेतका रूपमा लिने गरिन्छ। विगतमा पनि मुलुकमा ठूला विपत्ति वा संकटका घटनाअघि यस्तै अवस्था देखिएको स्थानीयको दाबी छ।

शनिबार साँझ मूर्तिमा पसिना देखिएपछि मन्दिरमा विशेष धार्मिक विधि अपनाइएको थियो। मूर्तिलाई स्नान गराएर तान्त्रिक विधिअनुसार क्षमा पूजा गरिएको बताइएको छ।

पलाञ्चोक भगवती काभ्रेको महत्वपूर्ण धार्मिक तथा ऐतिहासिक स्थलमध्ये एक हो। करिब १ हजार ६ सय वर्षभन्दा पुरानो मानिने यो मन्दिरमा देशका विभिन्न स्थानबाट भक्तजन दर्शनका लागि पुग्ने गर्छन्।

स्थानीय जनश्रुतिअनुसार पलाञ्चोक भगवतीलाई चार भगवतीमध्ये जेठी दिदीका रूपमा मानिन्छ। मन्दिरसँग जोडिएका विभिन्न किंवदन्ती र परम्पराका कारण यसको धार्मिक महत्त्वसँगै ऐतिहासिक तथा पर्यटकीय आकर्षणसमेत रहेको छ।

बडादशैं, वैशाख पूर्णिमालगायतका विशेष अवसरमा यहाँ ठूलो संख्यामा भक्तजन आउने गर्छन्। विभिन्न पर्वमा विशेष पूजा, मेला तथा रथयात्रा आयोजना हुने परम्परा पनि रहँदै आएको छ।

मूर्तिमा पसिना देखिनुलाई स्थानीयले धार्मिक आस्थासँग जोडेर हेरेका छन्। यद्यपि यस्तो घटना हुनुको वैज्ञानिक कारणबारे भने सम्बन्धित विज्ञबाट कुनै निष्कर्ष सार्वजनिक भएको छैन।