काठमाडौं । सवारी ज्यानसम्बन्धी कसुरमा लामो समयदेखि फरार रहेका एक व्यक्तिलाई भक्तपुर प्रहरीले १९ वर्षपछि नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ का ५२ वर्षीय राजन भनिने यमनाथ चालिसेलाई खोजी गर्ने क्रममा भदौ ३० गते मध्यपुर थिमि नगरपालिका–६ बाट पक्राउ गरिएको हो।
चालिसे २०६५ साल जेठ २६ गते भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, सानोठिमीस्थित सडकमा भएको सवारी दुर्घटनासँग सम्बन्धित मुद्दामा घटनापछि फरार रहेको प्रहरीको भनाइ छ।
उक्त दुर्घटनाको अनुसन्धान तथा कानुनी प्रक्रियाका क्रममा उनी फरार भएपछि प्रहरीले निरन्तर खोजी गरिरहेको थियो। खोजतलासका क्रममा प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले उनलाई फेला पारी नियन्त्रणमा लिएको हो।
पक्राउ परेका चालिसेमाथि सवारी ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








Add Comment