काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल ‘कबड्डी’ श्रृंखलाको पाँचौँ भाग अब दर्शकमाझ आउने तयारीमा छ। ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ आगामी कात्तिक ६ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो।
‘कबड्डी’को यात्रा पहिलो भागबाट सुरु भएको थियो। त्यसपछि ‘कबड्डी २’, ‘कबड्डी ३’ र ‘कबड्डी ४ : द फाइनल म्याच’ हुँदै यो श्रृंखला पाँचौँ भागसम्म आइपुगेको हो। अघिल्ला चारवटै फिल्म व्यावसायिक रूपमा सफल भएका थिए। विशेषगरी चौथो भागले करिब २२ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको विवरण सार्वजनिक भएको छ।
चौथो भागको नाममै ‘द फाइनल म्याच’ राखिए पनि कथा पूर्ण रूपमा टुंगिन नसकेको र दर्शकको मागसमेत रहेकाले पाँचौँ भाग निर्माण गरिएको निर्देशक रामबाबु गुरुङले बताएका छन्। नयाँ फिल्मले अघिल्ला भागमा स्थापित पात्रहरूको कथालाई थप अगाडि बढाउनेछ।
पाँचौँ भागमा पनि दर्शकमाझ लोकप्रिय दयाहाङ राई, विजय बराल र बुद्धि तामाङ मुख्य भूमिकामा देखिँदैछन्। सार्वजनिक फर्स्टलुकमा दयाहाङ काजी, विजय बीके र बुद्धि छन्त्यालको भूमिकामा देखिएका छन्।
फिल्ममा दयाहाङ, विजय र बुद्धिसँगै विपिन कार्की, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल, विष्णु मोक्तान लगायतका कलाकारको अभिनय रहेको छ।
रामबाबु गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको हो। निर्माता टोलीमा रामबाबुसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ रहेका छन् भने सागर राज कार्यकारी निर्माता छन्।
यसपटक फिल्मको नाम नै ‘आफ्टर द फाइनल म्याच’ राखिएकाले चौथो भागपछि कथाले कुन मोड लिन्छ भन्ने विषयमा दर्शकमाझ उत्सुकता बढेको छ। अब ‘कबड्डी’को पाँचौँ अध्यायले अघिल्ला चार भागको यात्रालाई कसरी अगाडि बढाउँछ भन्ने प्रतीक्षा गरिएको छ।
‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ आगामी कात्तिक ६ गतेदेखि नेपाली हलमा प्रदर्शनमा आउनेछ।