एसियन गेम्समा नेपालको लक्ष्य : पहिलो स्वर्णसँगै दोहोरो अंकमा पदक

एसियन गेम्समा नेपालको लक्ष्य : पहिलो स्वर्णसँगै दोहोरो अंकमा पदक

एजेन्सी । जापानको आइची–नागोयामा जारी २०औँ एसियन गेम्समा नेपाल पहिलोपटक स्वर्ण पदक जित्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ। नेपालले यसपटक कम्तीमा १० पदक जित्ने लक्ष्य राखेको छ।

नेपालबाट २१ खेलमा १३५ खेलाडी सहभागी छन्। टोलीमा ५७ महिला र ७८ पुरुष खेलाडी रहेका छन्। खेलाडीबाहेक प्रशिक्षक, व्यवस्थापक तथा प्राविधिकसहित नेपाली टोलीको कुल संख्या २११ रहेको छ।

नेपालले यसअघि एसियन गेम्सका १८ संस्करणमा सहभागिता जनाइसकेको छ। हालसम्म नेपालले २६ पदक जितेको छ, जसमा २३ कांस्य र ३ रजत छन्। तर एसियन गेम्समा नेपालको खातामा अहिलेसम्म स्वर्ण पदक जोडिन सकेको छैन।

यही अवस्थालाई बदल्ने उद्देश्यसहित राष्ट्रिय खेलकुद परिषद्ले हाङझाउ एसियन गेम्सपछि ‘मिसन २०२६’ अन्तर्गत खेलाडीको तयारीलाई निरन्तरता दिएको थियो। प्रशिक्षण, पोषण र अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक अनुभवलाई तयारीको प्रमुख हिस्सा बनाइएको थियो।

यसपटक नेपालको पदक आशा विशेषगरी कराते, बक्सिङ, उसु, तेक्वान्दो र महिला कबड्डीमा केन्द्रित छ।

करातेकी एरिका गुरुङ नेपालका लागि स्वर्ण पदकको प्रमुख दाबेदारमध्ये एकका रूपमा हेरिएकी छन्। उनले हाङझाउ एसियन गेम्समा महिला ६८ केजीभन्दा माथिको तौल समूहमा रजत पदक जितेर इतिहास बनाएकी थिइन्। यसपटक पनि उनको प्रदर्शनमा नेपाली खेलप्रेमीको विशेष नजर रहनेछ।

करातेकै सानुमाया थिङ पनि पदकको दौडमा छिन्। यस्तै बक्सिङतर्फ विश्व च्याम्पियनसिपमा कांस्य पदक जितिसकेका चन्द्रबहादुर थापा मगर नेपाली टोलीका प्रमुख खेलाडीमध्ये एक हुन्।

महिला कबड्डी टोलीको नेतृत्व मानमती विष्टले गरिरहेकी छन्। हाङझाउमा नेपाली महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो। यसपटक पनि टोलीबाट पदकको अपेक्षा गरिएको छ।

यस संस्करणमा नेपालको खेलाडी संख्या अघिल्लो हाङझाउ एसियन गेम्सको तुलनामा घटेको छ। हाङझाउमा नेपालबाट २५३ खेलाडी सहभागी भएका थिए भने नागोया एसियन गेम्सका लागि १३५ खेलाडी छनोट भएका छन्।

नेपालले यसपटक कबड्डीमा २४, क्रिकेटमा १५, भलिबलमा १२, उसुमा १०, करातेमा ८ र बक्सिङमा ७ खेलाडी सहभागी गराएको छ।

तीन वर्षदेखि गरिएको तयारीको परिणाम मैदानमा देखाउने चुनौती नेपाली खेलाडीसमक्ष छ। पहिलो स्वर्ण जित्ने लक्ष्यसँगै दोहोरो अंकमा पदक पुर्‍याउने नेपालको अभियान अब प्रतियोगिताका विभिन्न खेलमा हुने प्रदर्शनमा निर्भर हुनेछ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply