काठमाडौं । री एन्ड की फिल्मको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘चंगुल’ को ट्रेलर सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको ट्रेलरमा देशमा परिवर्तनका लागि भएको आन्दोलन र त्यसमा युवाहरूले गरेको संघर्ष तथा त्यागलाई प्रस्तुत गरिएको छ।
देशलाई ‘चंगुल’बाट मुक्त गराउन युवाहरूले गरेको मेहनत, संघर्ष र बलिदानलाई चलचित्रको मुख्य विषय बनाइएको छ। चलचित्र आगामी असोज १६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ।
चलचित्रलाई राम गौतमले निर्देशन गरेका हुन् भने मालती कार्की निर्माता हुन्। चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमिल्सिना, राम गौतम, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, मालती कार्कीलगायत कलाकारको अभिनय रहेको छ। बाल कलाकार रिम्सा कार्कीको पनि चलचित्रमा अभिनय रहेको छ।
चलचित्रको कथा, पटकथा तथा संवाद रवि कार्कीले लेखेका हुन्। संगीततर्फ विपिन आचार्य, विक्रम कार्की र नन्दनी अधिकारीको योगदान रहेको छ। द्वन्द्व निर्देशन देव महर्जनले गरेका छन् भने छायांकन तथा सम्पादनको जिम्मेवारी दिपेन बस्न्यातले सम्हालेका छन्।
चलचित्रकी निर्माता तथा कलाकार मालती कार्कीका अनुसार ‘चंगुल’ प्रदर्शनपछि प्राप्त मुनाफाबाट घाइते जेनजीहरूलाई सहयोग गरिनेछ। यसका लागि घाइते जेनजी नेपाल संस्थासँग सहकार्य गर्ने सम्झौता भइसकेको उनले जानकारी दिएकी छन्।
चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै यसको कथावस्तु, आन्दोलनको पृष्ठभूमि र युवाको संघर्षलाई कसरी प्रस्तुत गरिएको छ भन्ने विषयमा दर्शकको चासो बढेको छ।