१५३ विश्व कीर्तिमानी डा. डीआर उपाध्यायको नयाँ भजन ‘हरे कृष्ण’ सार्वजनिक

१५३ विश्व कीर्तिमानी डा. डीआर उपाध्यायको नयाँ भजन ‘हरे कृष्ण’ सार्वजनिक

काठमाडौं । गीतकार तथा सर्जक डा. डीआर उपाध्याय खनालको नयाँ भजन ‘हरे कृष्ण’ सार्वजनिक भएको छ। आध्यात्मिकता, भक्ति र सामाजिक चेतनालाई समेटिएको भजन डा. उपाध्यायकै शब्द र स्वरमा तयार भएको हो।

काठमाडौंमा आयोजित कार्यक्रममा भजन तथा यसको भिडियो सार्वजनिक गरिएको हो। भजनमा सागर अधिकारी ‘शरद’को संगीत, सञ्जय श्रीपालको एरेञ्ज तथा कुमार केसीको मिक्सिङ र माष्टरिङ रहेको छ।

खेमनाथ खनालको निर्देशनमा तयार भएको भिडियोमा रामशरण उप्रेतीको छायांकन तथा सञ्जय अधिकारीको दृश्य सम्पादन र कलर संयोजन रहेको छ। भिडियोमा डा. उपाध्यायसँगै सुनिता खनाल, तुलसी खड्कालगायत कलाकार तथा पारिवारिक सदस्यहरूको अभिनय देख्न सकिन्छ।

भजन सार्वजनिक कार्यक्रममा गीत तथा भिडियोसँग सम्बन्धित सर्जकसहित वरिष्ठ पत्रकार तुलसी गिरी, महेन्द्र माला खबर डटकमका धिरज दाहाल, सुभाष प्रधान, कृष्ण भुसाललगायतको उपस्थिति थियो।

कार्यक्रममा सहभागीहरूले ‘हरे कृष्ण’मार्फत डा. उपाध्यायको आध्यात्मिक सोचसँगै सिर्जनात्मक यात्राको अर्को पाटो प्रस्तुत भएको बताएका थिए।

डा. उपाध्यायले देश तथा विदेशका विभिन्न मठमन्दिरको भ्रमण र दर्शनसँगै आफ्नो सिर्जनात्मक यात्रालाई निरन्तरता दिइरहेको बताएका छन्। साहित्य तथा गीत–संगीतका विभिन्न विधामा सक्रिय उनले मनोरञ्जनसँगै आध्यात्मिकता, सामाजिक चेतना र सकारात्मक सन्देश नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले सिर्जना गर्दै आएको उल्लेख गरेका छन्।

गीत–संगीतमा लामो समयदेखि सक्रिय उपाध्यायका तीन दर्जनभन्दा बढी एल्बम सार्वजनिक भइसकेका छन्। उनका ‘प्रणय’, ‘नशालु नजर’, ‘जखम’, ‘प्रतिनाद’, ‘अन्तराप’, ‘सहेली’, ‘जोहो’, ‘माउण्टेन मेलोडी’, ‘परिष्कृत’, ‘कृति’, ‘पृथक’, ‘सुधारस’, ‘स्वर्गघर’, ‘नजरको तीर’, ‘कर्तव्य बोध’, ‘धरोहर’, ‘हृदयको झंकार’, ‘धर्ती र जीवन’, ‘धड्कन’, ‘आकांक्षा’, ‘अभिभूत’, ‘अभिलाषा’, ‘आवृत’ लगायतका एल्बममा रहेका गीतका भिडियो सार्वजनिक भइसकेका छन्।

गीत–संगीतबाहेक उपाध्यायले पुस्तक लेखनमा समेत विभिन्न प्रयोग गरेका छन्। सानो आकारको गीत पुस्तकदेखि ठूलो आकारका पुस्तक तथा नेपाली–अंग्रेजीलाई फरक संरचनामा प्रस्तुत गरिएका गीति पुस्तकसम्म उनले पाठकमाझ ल्याएका छन्।

उपन्यास विधामा पनि उनको सक्रियता देखिन्छ। ‘वज्राघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’, ‘कसूर’, ‘मझधार’ र ‘आशक्ति’लगायत उनका उपन्यास प्रकाशित छन्। केही समयअघि उनको कवितासंग्रह ‘अन्तसंस्करण’ पनि सार्वजनिक भएको थियो।

सिर्जनात्मक प्रयोगका कारण विभिन्न विश्व कीर्तिमानको प्रमाणपत्र प्राप्त गरेको उपाध्यायको दाबी छ। उनका अनुसार गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित विभिन्न अन्तर्राष्ट्रिय संस्थाबाट उनले १५३ वटा विश्व कीर्तिमानका प्रमाणपत्र प्राप्त गरेका छन्।

उनका सिर्जनामा प्रेम, रोमान्स र विछोडदेखि समाज, संस्कृति, पर्यटन, स्वास्थ्य, श्रम तथा सामाजिक चेतनासम्मका विषय समेटिएका छन्। महिला हिंसा, मजदुर, किसान, भरिया, योग तथा स्वस्थ जीवनशैली, पर्यटन प्रवर्द्धन र सामाजिक सम्बन्धजस्ता विषयमा पनि उनले गीत तथा अन्य सिर्जना गरेका छन्।

‘हरे कृष्ण’लाई आफ्नो पछिल्लो सिर्जनात्मक यात्राको अर्को कडीका रूपमा प्रस्तुत गरिएको डा. उपाध्यायले बताएका छन्।

 

 

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply