काठमाडौं । नेपाली ललितकला तथा परम्परागत मूर्तिकलाका क्षेत्रमा लामो समय योगदान पुर्याएका क्रोधकला शिरोमणि प्राज्ञ कालु कुमालेको निधन भएको छ। उहाँको २०८३ असोज ६ गते ९४ वर्षको उमेरमा निधन भएको हो।
विसं १९९० साल जेठ २७ गते पाटनको थपाट, महाबौद्धमा जन्मिनुभएका कुमाले पिता सानु कुमाले र माता ज्ञानी थुङ्कुका पुत्र हुनुहुन्थ्यो। उहाँ नेपाली मौलिक कला तथा परम्परागत मूर्तिकलाका ज्ञाताका रूपमा स्थापित हुनुहुन्थ्यो।
परम्परागत कला–शिल्पलाई संरक्षण गर्दै त्यसलाई नयाँ पुस्तासम्म पुर्याउन उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। नेपाली कला र संस्कृतिको मौलिक पहिचानलाई जीवन्त राख्ने अभियानमा उहाँको योगदानलाई कला क्षेत्रले विशेष रूपमा स्मरण गर्नेछ।
उहाँको निधनसँगै नेपाली ललितकला तथा संस्कृति क्षेत्रमा एउटा महत्वपूर्ण अध्यायको अन्त्य भएको छ। उहाँले नेपाली कला क्षेत्रमा पुर्याउनुभएको योगदान र सिर्जनात्मक विरासत आगामी पुस्ताका लागि समेत प्रेरणाको स्रोत बन्नेछ।
दिवङ्गत कुमालेप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना।