काठमाडौं । सुर्खेतको चौकुने गाउँपालिकामा श्रीमानले फरुवाले टाउकोमा प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ।
चौकुने गाउँपालिका–५ रेक्चामा बुधबार बिहान घरमै भएको घटनामा ३० वर्षीया चन्द्रा देवकोटा जैसीको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बिहान करिब १०ः२० बजे ३२ वर्षीय गोपीराम जैसीले आफ्नै श्रीमती चन्द्राको टाउकोमा फरुवाले प्रहार गरेका थिए। गम्भीर घाइते भएकी उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।
घटनाबारे स्थानीय वडा सदस्य टपेन्द्र बुढा क्षेत्रीले जानकारी गराएपछि प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक बुद्धि साउँदको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी निरीक्षक भुपेन्द्र शाहीको कमाण्डमा SOCO सहितको टोली पनि घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ।
श्रीमतीमाथि फरुवा प्रहार गरेको आरोपमा गोपीराम जैसीलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।