काठमाडौं । हिन्दू धर्मावलम्बीको महत्वपूर्ण धार्मिक परम्परा मानिने सोह्रश्राद्ध आज असोज ११ गतेदेखि सुरु भएको छ। पितृपक्षका रूपमा समेत चिनिने यस अवधिमा दिवंगत आफन्त तथा पितृको सम्झनामा श्राद्ध, तर्पण र पिण्डदान गर्ने परम्परा छ।
सोह्रश्राद्धको पहिलो दिन आज प्रतिपदा श्राद्ध गरिँदैछ। आफ्ना दिवंगत आफन्तको मृत्यु भएको तिथिअनुसार परिवारले सम्बन्धित दिन श्राद्ध गर्ने चलन रहेको छ।
धार्मिक मान्यताअनुसार पितृपक्षमा श्राद्ध तथा तर्पण गर्दा दिवंगत पितृप्रति श्रद्धा र सम्मान प्रकट हुने विश्वास गरिन्छ। यस अवधिमा पिण्डदान, तर्पण, ब्राह्मण भोजन तथा दान गर्ने परम्परासमेत रहेको छ।
सोह्रश्राद्धका अवसरमा काठमाडौंको पशुपतिनाथलगायत विभिन्न धार्मिक तथा तीर्थस्थलमा पितृको सम्झनामा श्राद्ध तथा तर्पण गर्ने श्रद्धालुको उपस्थिति रहने गर्दछ।
परम्पराअनुसार सोह्रश्राद्धको अवधिमा विभिन्न तिथिमा श्राद्ध गर्दै अन्तिम दिन सर्वपितृ औँसीमा सबै पितृको सम्झनामा श्राद्ध तथा तर्पण गर्ने गरिन्छ।