प्राविधिक सांसदलाई विज्ञता र सीप मुलुक निर्माणमा प्रयोग गर्न प्रधानमन्त्री शाहको आग्रह

प्राविधिक सांसदलाई विज्ञता र सीप मुलुक निर्माणमा प्रयोग गर्न प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई आफ्नो ज्ञान, सीप र अनुभव मुलुकको विकास तथा नीति निर्माणमा अधिकतम प्रयोग गर्न आग्रह गरेका छन्।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले राजनीतिक विषयमा मात्र केन्द्रित नभई दीर्घकालीन नीति र नयाँ सोचका साथ काम गर्न आग्रह गरेका हुन्।

प्रधानमन्त्री शाहले प्राविधिक क्षेत्रमा विज्ञता हासिल गरेका सांसदहरू अहिले देशको नीति निर्माण गर्ने महत्वपूर्ण स्थानमा रहेको उल्लेख गर्दै आफ्नो दक्षतालाई मुलुकको विकासमा उपयोग गर्नुपर्ने बताए।

उनले भने, “तपाईंहरू आफैँ प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ। देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्।”

प्रधानमन्त्री शाहले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकता दिन सुझाव दिए। निर्वाचन तथा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका योजना र प्राविधिक विषयमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

उनले प्राविधिक पृष्ठभूमिका सांसदहरूबाट दीर्घकालीन नीति निर्माण तथा नयाँ विचार ल्याउन सकिने अपेक्षा पनि व्यक्त गरे।

प्रधानमन्त्री शाहले सांसदहरूलाई परिवर्तनका संवाहकका रूपमा उल्लेख गर्दै नयाँ उपाय र सोचका साथ काम गर्न सके छोटो समयमै मुलुकको विकासमा महत्वपूर्ण परिवर्तन ल्याउन सकिने धारणा राखेका थिए।

छलफलमा सहभागी सांसदहरूले पनि आफ्नो क्षेत्रको विज्ञता र अनुभवलाई राष्ट्रिय विकासका काममा उपयोग गर्ने विषयमा धारणा राखेका थिए।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply