कांग्रेस महाधिवेशनमा बढ्दै विवाद, नागार्जुनदेखि सर्लाहीसम्म परिवारवादको आरोप

कांग्रेस महाधिवेशनमा बढ्दै विवाद, नागार्जुनदेखि सर्लाहीसम्म परिवारवादको आरोप

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीसँगै स्थानीय तहदेखि क्षेत्रीय अधिवेशनसम्म पार्टीभित्र आन्तरिक विवाद र नेतृत्वमाथिका प्रश्नहरू उठ्न थालेका छन्।

काठमाडौंको नागार्जुन र सर्लाही–४ मा महाधिवेशन प्रतिनिधि छनोट तथा पार्टीको आन्तरिक संरचनालाई लिएर नेता–कार्यकर्ताबीच असन्तुष्टि देखिएको हो।

नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार तथा गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दा दायर गरेको थियो। अख्तियारका अनुसार बस्नेतमाथि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा ८ करोड ६९ लाख ८७ हजार रुपैयाँभन्दा बढी बिगो कायम गरी मुद्दा दायर गरिएको थियो।

त्यस्तै, घुस रिसवतसम्बन्धी अर्को मुद्दामा अख्तियारले बस्नेतविरुद्ध ९ करोड २२ लाख ४६ हजार रुपैयाँभन्दा बढी बिगो दाबी गरेको थियो।

उक्त मुद्दामा उनकी श्रीमती उर्मिला बस्नेतलाई समेत प्रतिवादी बनाइएको थियो। विशेष अदालतले उर्मिला बस्नेतलाई सफाइ दिएपछि अख्तियारले उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको अभिलेखमा देखिन्छ।

यही पृष्ठभूमिमा नागार्जुन कांग्रेसको अधिवेशनमा परिवारका सदस्य तथा आफूनिकट व्यक्तिहरूलाई पार्टीको विभिन्न तहमा प्रतिनिधित्व गराइएको भन्दै केही कार्यकर्ताले प्रश्न उठाएका छन्। प्रतिनिधि छनोटमा दबाब र हस्तक्षेप भएको तथा त्यसक्रममा विवाद उत्पन्न भएको स्थानीयस्तरका आरोपहरू छन्। यी आरोपबारे सम्बन्धित पक्षको औपचारिक धारणा भने स्पष्ट रूपमा सार्वजनिक भएको देखिँदैन।

यता नेपाली कांग्रेस सभापति गगनकुमार थापाको निर्वाचन क्षेत्र सर्लाही–४ मा पनि महाधिवेशन प्रतिनिधि छनोटलाई लिएर विवाद देखिएको छ। विभिन्न समाचारमा सुरेन्द्र सिंह र वीरेन्द्र सिंहनिकट व्यक्ति तथा परिवारका सदस्यलाई प्राथमिकता दिइएको भन्दै स्थानीय नेता–कार्यकर्ताले असन्तुष्टि जनाएको उल्लेख छ।

सुरेन्द्र सिंह र वीरेन्द्र सिंहको राजनीतिक प्रभावबारे सर्लाही कांग्रेसभित्र लामो समयदेखि बहस हुँदै आएको छ। गगन थापाको सर्लाही–४ मा भएको निर्वाचन पराजयका कारणबारे प्रकाशित विश्लेषणहरूमा समेत पार्टीभित्रको आन्तरिक विवाद र सिंह दाजुभाइको प्रभावलाई स्थानीय नेताहरूले उठाएको उल्लेख छ।

अहिले सम्म निर्वाचन नजितेका, विशेष महाधिवेशनदेखि भ्रष्टाचारमा जेल सजाय तोकिएका मोहनबहादुर बस्नेतसँग साँठगाँठ गरेर परिवारका सदस्यहरूलाई वडादेखि महाधिवेशन प्रतिनिधि तथा क्षेत्र क्याप्चर गर्न खोजिएको आरोप लगाइएको छ।

क्षेत्रीय अधिवेशनमा निर्वाचित वडा अध्यक्ष सुन्दरबहादुर केसीलाई निर्देशन दिएर निर्वाचित नभएको व्यक्तिलाई महाधिवेशन प्रतिनिधि घोषणा गर्न लाग्दा झडपसमेत भएको दाबी गरिएको छ।

नागार्जुन नगर समितिमा सहोदर साली विमला पौडेल गौतमलाई नगर उपसभापति, श्रीमती कमला पौडेललाई क्षेत्रीय प्रतिनिधि लगायत भाइ–भतिजाहरू गरी १० जनालाई क्षेत्रीय प्रतिनिधि बनाएर वडा हुँदै नगर र क्षेत्रसम्म परिवारवाद हावी भएको आरोप लगाइएको छ। परिवारवाद हावी हुँदा क्षेत्रमा यतिबेला इमानदार नेताहरूको रुवाबासी चलेको दाबी गरिएको छ।

निजकी श्रीमती कमला पौडेलले आफ्नै घरमा सहकारी सञ्चालन गर्दै आएकीले रकम अपचलनको आशंका बढेको समेत दाबी गरिएको छ।

त्यस्तै, सर्लाहीका सुरेन्द्र सिंह र वीरेन्द्र सिंह पनि भ्रष्टाचार आरोपित व्यक्तिहरू रहेको भन्दै उनीहरू केन्द्रीय सदस्यका उम्मेदवार बन्न प्रचारमा लागेपछि सभापति गगन थापा निकै तनावमा परेको दाबी गरिएको छ।

आम निर्वाचनमा सर्लाहीको विवादित छवि भएका वीरेन्द्र सिंह र सुरेन्द्र सिंहकै कारण गगन थापाले निर्वाचन हारेको आकलन गरिएको थियो।

महाधिवेशन नजिकिँदै जाँदा प्रतिनिधि छनोट, गुटगत प्रभाव र परिवारका सदस्यलाई पार्टी संरचनामा स्थान दिने विषय कांग्रेसभित्र थप बहसको विषय बनेको छ। अब नेतृत्वले स्थानीय तहमा देखिएका यस्ता विवाद कसरी सम्बोधन गर्छ भन्ने चासो बढेको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply