काठमाडौं । स्वयम्भू क्षेत्रको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई खेलकुदसँग जोड्दै आयोजना हुँदै आएको ‘स्वयम्भू रन’को आठौँ संस्करण आगामी २०८३ पुस २५ गते शनिबार (९ जनवरी २०२७) आयोजना हुने भएको छ। प्रतियोगिताअन्तर्गत ४.६ किलोमिटर दूरीको फन रन सञ्चालन गरिनेछ।
स्वयम्भू एथलेटिक्स ट्रेनिङ क्लब तथा eHeraldPost.com को संयुक्त आयोजनामा हुन लागेको कार्यक्रमको व्यवस्थापन लाया मिडिया प्रा. लि.ले गर्नेछ। दौड स्वयम्भूस्थित भगवानपाउबाट सुरु भई विभिन्न स्थान हुँदै पुनः भगवानपाउमै पुगेर समापन हुनेछ।
निर्धारित रुटअनुसार दौड भगवानपाउबाट सुरु भएर किमडोल, छाउनी अस्पताल, छाउनी चोक, सीतापाइला, बुद्धपार्क र बारुदखाना हुँदै पुनः भगवानपाउमा आएर टुंगिनेछ। कुल ४.६ किलोमिटर दूरीको यस फन रनमा सहभागी हुन पाँच सय रुपैयाँ दर्ता शुल्क तोकिएको छ।
सहभागीहरूलाई दौडका लागि आवश्यक बिब नम्बर तथा टी–सर्ट २०८३ पुस २४ गते शुक्रबार (८ जनवरी २०२७) वितरण गरिनेछ।
आठौँ स्वयम्भू रनले दौडप्रेमी तथा स्थानीय समुदायलाई खेलकुदमार्फत जोड्दै स्वस्थ जीवनशैली र स्वयम्भू क्षेत्रको पहिचान प्रवर्द्धन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।