काठमाडौं । गोवर्द्धन पूजा तथा नेपाल संवत् ११४७ को शुभारम्भको अवसरमा काठमाडौंको नागार्जुनमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। नेवा: देय दबू जामा:घ (नागार्जुन) को आयोजनामा आगामी कात्तिक २४ गते मंगलबार सीतापाइलास्थित ऐतिहासिक हरिसिद्धि मन्दिर परिसरमा ‘न्हू दँया भिन्तुना’ कार्यक्रम हुन लागेको हो।
नेपाल संवत्को नयाँ वर्षलाई स्वागत गर्ने तथा नेवारी मौलिक कला, संस्कृति, भाषा र परम्पराको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।
नेपाल संवत् नेपाली मौलिक इतिहास, संस्कृति र पहिचानसँग जोडिएको संवत् हो। प्रत्येक वर्ष नयाँ संवत्को सुरुवातलाई नेवार समुदायले विशेष उत्साहका साथ मनाउँदै आएको छ। ‘न्हू दँया भिन्तुना’ अर्थात् नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने परम्पराले आपसी सद्भाव, सांस्कृतिक एकता र समुदायबीचको सम्बन्धलाई थप बलियो बनाउने विश्वास गरिन्छ। यही सांस्कृतिक महत्त्वलाई आत्मसात् गर्दै नागार्जुन क्षेत्रमा पनि नयाँ वर्षको स्वागतका लागि कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रममा मोटरसाइकल तथा साइकल र्यालीमा सहभागी हुनेहरूलाई विशेष स्वागत तथा सम्मान गरिने कार्यक्रम रहेको छ। र्यालीमार्फत नयाँ वर्षको उत्साह र सांस्कृतिक सन्देशलाई समुदायमाझ पुर्याउने आयोजकको तयारी छ। त्यसैगरी, नेवारी परम्पराअनुसारको स्वागत सत्कार तथा विभिन्न सांस्कृतिक प्रस्तुति कार्यक्रमका थप आकर्षण रहनेछन्।
गोवर्द्धन पूजाको अवसरसमेत परेकाले यस दिन धार्मिक तथा सांस्कृतिक महत्त्व अझ विशेष रहनेछ। विभिन्न समुदाय र परम्परालाई जोड्दै पर्वको उल्लाससँगै नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रम विश्व राम बलामीको संयोजनमा सञ्चालन हुनेछ। मंगलबार बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रम सीतापाइलास्थित हरिसिद्धि मन्दिर परिसरमा आयोजना गरिनेछ।
आयोजक संस्थाले नागार्जुन क्षेत्रका सम्पूर्ण बासिन्दा, नेवार समुदाय, नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई ‘न्हू दँया भिन्तुना’ को शुभकामना आदानप्रदान गर्न तथा सांस्कृतिक उत्सवमा सहभागी हुन आग्रह गरेको छ।
नेपाल संवत् ११४७ को आगमनलाई सामूहिक रूपमा स्वागत गर्दै स्थानीय कला, संस्कृति र परम्परालाई जीवन्त राख्ने प्रयासका रूपमा यस कार्यक्रमलाई हेरिएको छ।