काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज कार्तिक शुक्ल प्रतिपदाका दिन गाई पूजा गरिँदै छ। हिन्दू धर्मावलम्बीले गाईलाई माता र धनधान्य तथा समृद्धिकी देवी लक्ष्मीको प्रतीकका रूपमा सम्मान गर्दै पूजा गर्ने परम्परा छ।
धार्मिक मान्यताअनुसार गाईमा देवीदेवताको वास हुने विश्वास गरिन्छ। गाईलाई लक्ष्मीको प्रतीक मानिने भएकाले तिहारमा विशेष पूजा गरी सुख, शान्ति र समृद्धिको कामना गर्ने चलन छ।
गाईले दूध दिएर मानव जीवनलाई पोषण गर्ने भएकाले नेपाली समाजमा गाईलाई आमासरह सम्मान गर्ने परम्परा रहँदै आएको छ। धार्मिक तथा सांस्कृतिक महत्त्वसँगै कृषि र दैनिक जनजीवनमा पनि गाईको महत्त्वपूर्ण योगदान छ। गाईको दूध, गोबर र गहुँत विभिन्न प्रयोजनमा प्रयोग हुँदै आएको छ।
गाई पूजाका दिन बिहानै गाईलाई नुहाइदिने, निधारमा टीका लगाउने, सयपत्री तथा मखमली फूलको माला पहिर्याउने र मिठा परिकार तथा घाँस खुवाउने गरिन्छ। यसरी पूजा गर्दा घरपरिवारमा सुख, शान्ति र समृद्धि कायम हुने धार्मिक विश्वास छ।
हिन्दू धार्मिक मान्यताअनुसार गाईको पूजा गर्दा पुण्य प्राप्त हुने र मृत्युपछि वैतरणी नदी पार गर्न गाईले सहयोग गर्ने विश्वाससमेत रहेको छ।
तिहारमा काग, कुकुर, गाई र गोरुको पूजा गर्ने परम्पराले मानव जीवनसँग जोडिएका पशुपक्षीप्रति सम्मान, माया र कृतज्ञता व्यक्त गर्ने सांस्कृतिक सन्देश पनि बोकेको छ।