नेपालमा विपद् पूर्वसूचनाका लागि राष्ट्रिय मार्गचित्र तयार, सेल ब्रोडकास्ट प्रणालीको कार्यविधि बनाइयो

नेपालमा विपद् पूर्वसूचनाका लागि राष्ट्रिय मार्गचित्र तयार, सेल ब्रोडकास्ट प्रणालीको कार्यविधि बनाइयो

काठमाडौं । नेपालमा विपद् जोखिम न्यूनीकरण तथा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन राष्ट्रिय मार्गचित्र तयार गरिएको छ। साथै, मोबाइलमार्फत एकैपटक ठूलो संख्यामा नागरिकलाई आपत्कालीन सूचना पठाउन सकिने सेल ब्रोडकास्ट प्रणाली (Cell Broadcast System) सञ्चालनका लागि कार्यविधि पनि बनाइएको छ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले नेपालमा पूर्वसूचना प्रणाली विकासका लागि भइरहेका कामबारे जानकारी दिँदै प्रकोपका थ्रेसहोल्ड निर्धारणसहित राष्ट्रिय मार्गचित्र तयार भएको बताएका हुन्।

टर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–३१ अन्तर्गत बुधबार नेपाल पेभिलियनमा आयोजित सामूहिक छलफलमा उनले यस्तो जानकारी दिएका हुन्।

‘भोटेकोशीदेखि उत्थानशीलतासम्म: नेपालमा समावेशी बहुप्रकोपीय पूर्वसूचना प्रणालीको सुदृढीकरण’ विषयक छलफलमा डा. उप्रेतीले पूर्वसूचना प्रणालीसँग सम्बन्धित वैज्ञानिक जानकारीलाई समुदायस्तरसम्म पुर्‍याउनुपर्नेमा जोड दिए।

उनले पर्याप्त वित्तीय स्रोत उपलब्ध भए उच्च हिमाली क्षेत्रमा देखिएका जोखिमको नियमित अनुगमन गर्न सकिने बताए। तापक्रम वृद्धि, वर्षाको मात्रा तथा त्यसले हिमपहिरो निम्त्याउन सक्ने सम्भावनाजस्ता विषयको निरन्तर निगरानी गर्न आवश्यक संयन्त्र र संरचना विकास गर्ने योजना रहेको उनको भनाइ थियो।

उच्च हिमाली क्षेत्रमा सम्भावित विपद्को जोखिम समयमै पहिचान गरी विपद् आउनुअघि नै आवश्यक तयारी तथा प्रतिकार्य गर्न पर्याप्त समय उपलब्ध गराउने उद्देश्यले उच्च प्रविधियुक्त राडार प्रणाली स्थापना गर्नुपर्ने उनले बताए। यसबाट जोखिमको पूर्वानुमान गरी आवश्यक ‘एन्टिसिपेटरी एक्सन’ अर्थात् विपद् आउनुअघि नै पूर्वतयारीका काम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

टर्कीएको अन्ताल्यामा सोमबारदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारूप महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मंसिर ४ गतेसम्म सञ्चालन हुनेछ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply