काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त भएका छन्।
६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कैद छुट सुविधाअन्तर्गत उनी बिहीबार बिहान कारागारबाट रिहा भएका हुन्। काठमाडौं जिल्ला अदालतको आदेश र संशोधित कैदीपुर्जीका आधारमा उनलाई मुक्त गरिएको हो।
रायमाझीले ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ अनुसार कैद सजायमा छुट पाउन अदालतमा निवेदन दिएका थिए। उक्त कानुनी व्यवस्थाअनुसार ६५ देखि ७० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले कैद सजायमा २५ प्रतिशतसम्म छुट पाउन सक्छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते रायमाझीलाई चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो। ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा दोषी ठहर भएका उनी २०८० वैशाखदेखि कारागारमा थिए।
२५ प्रतिशत कैद छुटको सुविधा र यसअघि थुनामा बिताएको अवधिसमेत गणना गर्दा उनको कैद अवधि पूरा भएको हो। रिहाइपछि उनलाई परिवारको जिम्मा लगाइएको समाचारमा उल्लेख छ।