क्षमताभन्दा बढी सिट राखेर सञ्चालन गरिएका चार विद्युतीय गाडीमाथि कारबाही

क्षमताभन्दा बढी सिट राखेर सञ्चालन गरिएका चार विद्युतीय गाडीमाथि कारबाही

मकवानपुर । सवारी दुर्घटनाको जोखिम न्यूनीकरण तथा यात्रु सुरक्षालाई ध्यानमा राख्दै मकवानपुरको भीमफेदीमा क्षमताभन्दा बढी सिट जडान गरेर सञ्चालन गरिएका चारवटा विद्युतीय गाडीमाथि कारबाही गरिएको छ।

भीमफेदी गाउँपालिका–६ स्थित चेकपोइन्टमा गरिएको सवारी जाँचका क्रममा गाडीको दर्ता प्रमाणपत्रमा उल्लेख गरिएको क्षमताभन्दा बढी सिट राखेर सञ्चालन भइरहेको पाइएको हो। इलाका प्रहरी कार्यालय भीमफेदी र मकवानपुरबाट ट्राफिक प्रहरीसहित खटिएको संयुक्त टोलीले आज दिउँसो सवारीसाधन जाँच गर्ने क्रममा ती गाडी फेला पारेको थियो।

जाँचका क्रममा १४ जना यात्रु बोक्ने क्षमता उल्लेख भएका गाडीमा थप चारवटा सिट जडान गरी सञ्चालन गरिएको खुलेको प्रहरीले जनाएको छ। यसरी निर्धारित क्षमताभन्दा बढी सिट राखेर सवारी सञ्चालन गर्नु सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा ४३ को उपदफा (१) विपरीतको कार्य भएकाले सम्बन्धित सवारीधनीमाथि कानुनी कारबाही गरिएको हो।

ऐनको दफा १९४ को उपदफा (२) (ख) बमोजिम प्रत्येक गाडीलाई १० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ। चारवटा गाडीबाट कुल ४० हजार रुपैयाँ जरिवाना असुल गरिएको जनाइएको छ।

कारबाहीसँगै ती सवारीसाधनमा नियमविपरीत थपिएका अतिरिक्त सिटसमेत हटाइएको छ। स्थानीय सञ्चारकर्मीहरूको रोहबरमा गाडीभित्र जडान गरिएका अतिरिक्त सिट निकालिएको हो।

कारबाहीमा परेका सवारीसाधनका नम्बरहरू यसप्रकार छन् :

१. बा.प्र.०८-००१ ज ००४२
२. बा.प्र.०१-००२ ज ६२३९
३. बा.प्र.०१-००२ ज ७००६
४. बा.प्र.०१-००२ ज ६९८१

निर्धारित क्षमताभन्दा बढी यात्रु बोक्ने उद्देश्यले सवारीसाधनमा अतिरिक्त सिट जडान गर्दा यात्रुको सुरक्षा जोखिममा पर्न सक्ने भएकाले सवारी जाँचलाई कडाइ गरिएको जनाइएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply